Premier Cables
Premier Steel

अर्थ

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर १०, २०८३  | बिहान १०:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नयाँ सरकारले अर्थतन्त्र सुधार, लगानी प्रवर्द्धन र कर प्रशासनलाई सहज बनाउने उद्देश्यसहित कानुनी सुधारको ठूलो अभियान अघि बढाएको छ। सरकारले अध्यादेशमार्फत ६३ वटा ऐनका ५०० भन्दा बढी दफा संशोधन गर्ने तयारी गरेको छ। यसमध्ये आयकर ऐन, २०५८ का मात्रै ३० वटा दफा तथा व्यवस्थामा परिमार्जन गर्न लागिएको छ।

सरकारको प्रस्तावित कदमले वर्षौंदेखि झन्झटिलो मानिँदै आएको कर प्रणालीलाई सरल बनाउने, लगानीकर्ताको विश्वास बढाउने र करदातालाई अनावश्यक प्रशासनिक झन्झटबाट मुक्त गर्ने लक्ष्य राखेको छ।

विज्ञापन

अध्यादेशको प्रारम्भिक मस्यौदामा करदातालाई बढी कर फिर्ता गर्नेदेखि करसम्बन्धी विवाद समाधानका लागि स्वतन्त्र निकाय गठन गर्ने, पूर्वप्रभावी कर लगाउन रोक्ने र समयमा कर नबुझाएकै आधारमा हुने कैद सजाय हटाउनेसम्मका व्यवस्था प्रस्ताव गरिएको छ।

करदातालाई ३० दिनमै बढी तिरेको रकम फिर्ता

नयाँ प्रस्तावको महत्वपूर्ण पक्ष बढी दाखिला भएको कर फिर्तासम्बन्धी व्यवस्था हो। करदाताले बढी कर तिरेको विभागको अभिलेखबाट पुष्टि भएमा छुट्टै निवेदन नदिए पनि आय विवरण पेस गरेको ३० दिनभित्र बैंक खातामा रकम फिर्ता गर्नुपर्नेछ।

हाल कर फिर्ताका लागि विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै विद्युतीय प्रणालीबाटै रकम फिर्ता गर्ने प्रस्ताव गरिएको हो। तोकिएको समयभित्र रकम फिर्ता नभए करदाताले ब्याजसमेत पाउनेछन्।

त्यस्तै, कर निर्धारण गर्ने आन्तरिक राजस्व विभागभन्दा अलग अर्थ मन्त्रालयअन्तर्गत स्वतन्त्र प्रशासकीय पुनरावलोकन इकाई गठन गरिने प्रस्ताव छ। उक्त इकाईले करदाताको निवेदन प्राप्त भएको ६० दिनभित्र निर्णय दिनुपर्नेछ।

कर तिर्न नसक्नेलाई जेल होइन, जरिवाना

सरकारले समयमा आयकर दाखिला नगर्ने करदातालाई हुने सजायमा पनि परिवर्तन गर्न लागेको छ। हालको व्यवस्थाअनुसार एकदेखि तीन महिनासम्म कैद हुन सक्ने प्रावधान हटाएर आर्थिक जरिवाना मात्र कायम गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार पहिलो पटक समयमा कर नबुझाएमा ५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। तीन वर्षभित्र पुनः उस्तै कसुर गरेमा १० हजारदेखि ५० हजार रुपैयाँसम्म र त्यसपछि फेरि दोहोर्‍याएमा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ।

अब पछाडिको कारोबारमा नयाँ कर लगाउन नपाइने

सरकारले करदाताको कर निश्चिततालाई पनि प्राथमिकतामा राखेको छ। प्रस्तावित व्यवस्थाअनुसार करको दर बढाउने, कर दायित्व सिर्जना गर्ने वा कर छुट तथा सुविधा घटाउने गरी गरिएको कानुनी संशोधन त्यसअघि नै सम्पन्न कारोबार वा प्राप्त भइसकेको आयमा लागू गर्न पाइने छैन।

यसले व्यवसायी तथा लगानीकर्तालाई विगतमा गरेको कारोबारमा पछि कानुन परिवर्तन गरेर थप करको भार सिर्जना हुने जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ।

विदेशी लगानी र व्यवसाय विस्तारलाई प्रोत्साहन

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज बनाउने उद्देश्यले विदेशी लगानीसँग सम्बन्धित कर व्यवस्थाको एकीकृत विवरण सार्वजनिक गर्न आन्तरिक राजस्व विभागलाई जिम्मेवार बनाउने प्रस्ताव गरिएको छ।

विदेशी लगानीको आय, लाभांश, ब्याज, रोयल्टी, सेयर हस्तान्तरण तथा दोहोरो कराधान निवारण सम्झौतासम्बन्धी जानकारी अनलाइनमै उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, स्वीकृत विदेशी ऋणको बाँकी साँवा रकम सेयरमा परिणत गर्दैमा त्यसलाई करयोग्य आय नमानिने व्यवस्था प्रस्ताव गरिएको छ। यसले विदेशी ऋणलाई पुँजीमा रूपान्तरण गर्न चाहने उद्योग तथा कम्पनीलाई सहज बनाउनेछ।

व्यवसाय गाभ्ने तथा प्राप्ति गर्ने प्रक्रियामा पनि करसम्बन्धी सहुलियत प्रस्ताव गरिएको छ। स्वीकृत मर्जरमा सेयरको बदलामा सेयर प्राप्त गरेको अवस्थामा तत्काल कर नलगाउने व्यवस्था गर्न लागिएको हो।

महिला उद्यमीलाई तीन वर्षसम्म ५० प्रतिशत कर छुट

सरकारले महिला उद्यमशीलता प्रवर्द्धनका लागि पनि विशेष सुविधा प्रस्ताव गरेको छ। कम्तीमा ५१ प्रतिशत महिला स्वामित्व रहेको र वास्तविक व्यवस्थापनसमेत महिलाले गरेको नयाँ साना उद्यमलाई कारोबार सुरु भएको पहिलो तीन आय वर्षसम्म लाग्ने आयकरमा ५० प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ।

त्यस्तै, धितोपत्र बजारमा सूचीकृत भई १५ प्रतिशत कर छुट पाउने निकायको सूचीमा हवाई उद्योगलाई समेत समेट्न लागिएको छ।

व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कानुनबमोजिम गरिएको स्वीकृत खर्च तथा विपद् राहत र सरकारी कोषमा दिइएको रकममा हाल कायम १ प्रतिशतको सीमा हटाएर कट्टी गर्न पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

कर प्रशासन डिजिटल बनाउने लक्ष्य

करसम्बन्धी सम्पूर्ण सेवा एकीकृत विद्युतीय प्रणालीमार्फत उपलब्ध गराउने सरकारको योजना छ। विभागको प्रणालीमा प्राविधिक समस्या आएर करदाताले समयमै सेवा लिन नसकेका कारण मात्रै विलम्ब शुल्क, ब्याज वा जरिवाना लगाउन नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

अध्यादेश लागू भएको ६ महिनाभित्र आधारभूत कर सेवा र नौ महिनाभित्र पूर्वादेश तथा पुनरावलोकन सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, संशोधित कर निर्धारण गर्न पाउने हदम्याद दुई वर्षमा सीमित गर्ने प्रस्ताव गरिएको छ। महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याएको आधारमा मात्रै कानुनी हदम्याद नाघिसकेका करदातामाथि थप कर दाखिला गर्न दबाब दिन नपाइने व्यवस्था पनि समेटिएको छ।

सरकारले बैंकिङ क्षेत्र, निर्माण व्यवसाय, विशिष्टीकृत लगानी कोष तथा दूरसञ्चार क्षेत्रमा समेत करसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ। भू–उपग्रह, ब्याण्डविथ, अप्टिकल फाइबर, दूरसञ्चार उपकरण तथा विद्युत् प्रसारण लाइन प्रयोगमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर कट्टीलाई घटाएर ५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ।

यी सबै व्यवस्था अहिले अध्यादेशको प्रारम्भिक मस्यौदामा समेटिएका प्रस्ताव हुन्। कार्यान्वयनमा आएमा नेपालको कर प्रणाली, लगानी वातावरण र व्यवसाय सञ्चालन प्रक्रियामा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

ढुंगा, गिट्टी र बालुवाको अधिकार संघमा सीमित नगर्न विज्ञहरूको सुझाव

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka