Premier Cables
Premier Steel

अर्थ

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०८, २०८३  | बिहान १०:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुगेको छ। सोमबार दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेल मंगलबार बिहान जनकपुरधाम पुगेको हो।

रेल जनकपुरधाम आइपुग्दा सरकारी प्रतिनिधि तथा स्थानीय बासिन्दाले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर भव्य स्वागत गरेका छन्। रेलमा सवार तीर्थयात्रीलाई फूलमाला लगाएर स्वागत गरिएको थियो।

विज्ञापन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका थिए। त्यसपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्याबाट रेललाई बिदाइ गरेका थिए।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आएका छन्। उनीहरूलाई रेल्वे स्टेसनमा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको छ।

जनकपुरधाममा स्वागत कार्यक्रमपछि तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम छ। जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार दर्शन तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाइएको छ।

तीर्थयात्रीले दिउँसो साढे १२ बजेसम्म रेल्वे स्टेसन फर्किसक्नुपर्नेछ। उनीहरूका लागि स्टेसनमै खाजाको व्यवस्था गरिएको छ। रेल दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किने तालिका रहेको पराजुलीले बताएका छन्।

अयोध्या भगवान् रामको जन्मभूमि र जनकपुरधाम माता सीताको जन्मभूमिका रूपमा परिचित छन्। यी दुई धार्मिक सहरबीच रेल सेवा सुरु भएसँगै नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध थप बलियो हुने र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रेलको आगमनलाई लक्षित गर्दै जनकपुरधाम रेल्वे स्टेसन र जानकी मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka