विराटनगर । पानीमा चेप्टो ढुङ्गा फ्याँकेर सबैभन्दा बढी पटक छाल बनाउने प्रतिस्पर्धा अर्थात् ‘स्टोन स्किपिङ’ (पानी सुल्के प्रतियोगिता) आयोजना हुने भएको छ ।
चतरा हाइकिङ समूह वराहक्षेत्रको आयोजनामा प्रतियोगिताको चौथो संस्करण सुनसरीको वराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित तीनटोलिया पोखरीमा हुने भएको हो । आगामी कार्तिक २४ गते गोवर्धन पूजाका दिन आयोजना हुने प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबारे जानकारी दिन बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले तिहारको समयमा युवाहरूलाई जाँडरक्सी तथा जुवातासमा भन्दा यस्ता मौलिक र मनोरञ्जनात्मक खेलमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसअघि सप्तकोशी नदी, चतरा नहर र अमाहा सिमसार क्षेत्रमा प्रतियोगिता आयोजना गर्दै पर्यटन प्रवर्द्धन तथा जैविक विविधता संरक्षणको अभियान सञ्चालन गरिएको थियो । यस वर्ष भने मधुवन क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने लोपोन्मुख पानीचरा ‘सीम तित्रा’ (स्वाम्प फ्रान्कोलिन) को संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले १०० रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्नेछ । दुई चरणमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणमा ढुङ्गालाई पाँच पटकभन्दा बढी पानीमा उफार्नुपर्ने नियम राखिएको छ । प्रतियोगितामा प्रयोग गरिने ढुङ्गा भने सहभागी आफैँले लिएर जानुपर्ने आयोजकले जनाएको छ ।
स्टोन स्किपिङ विश्वका विभिन्न देशमा नदी, ताल, पोखरी तथा समुद्री किनारमा खेलिने मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेल हो । यस खेलमा चेप्टो तथा गोलाकार ढुङ्गालाई निश्चित कोण र गतिमा पानीको सतहतर्फ फ्याँकिन्छ । ढुङ्गा पानीमा जति पटक उफ्रिन्छ, त्यसैका आधारमा प्रतियोगिताको नतिजा निर्धारण गरिन्छ ।
उपलब्ध ऐतिहासिक विवरणअनुसार यस खेलको अभ्यास प्राचीन युनानी तथा रोमन सभ्यतादेखि हुँदै आएको मानिन्छ । विश्व कीर्तिमानअनुसार अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा ढुङ्गालाई पानीमा ८८ पटक उफारेर कीर्तिमान कायम गरेका थिए ।
