फायल फोटो
विराटनगर । सुनसरीमा चिसो अत्यधिक बढ्दै गएपछि शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित भएको छ।
यसै कारण जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएका छन्। स्थानीय तहहरूले पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
इटहरी उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिएको छ।
उपमहानगरको शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्तो निर्णय लिनुपरेको हो।
यसैगरी सुनसरीका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक बिदाबाट कट्टा हुने गरी बन्द रहनेछन्।
स्थानीय प्रशासनले अभिभावकहरूलाई बालबालिकालाई घरमै न्यानो वातावरणमा राख्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
