विराटनगर । कोशी प्रदेश लोकसेवा आयोगमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न प्रदेशसभाको सुशासन तथा योजना समितिले संसदीय उपसमिति गठन गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
उपसमितिका सदस्यमा राधाकृष्ण खनाल, भीमप्रसाद राजवंशी र मीना श्रेष्ठ रहेका छन् । प्रदेशसभा सचिव सुदर्शन खड्कालाई उपसमितिको सचिवको जिम्मेवारी दिइएको छ ।
उपसमितिलाई आयोगमा भएको भनिएको अनियमितताबारे छानबिन गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन बुझाउन समय दिइएको छ ।
आयोगका तत्कालीन अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंमाथि अनियमितताको आरोप लागेपछि त्यसको सत्यतथ्य पत्ता लगाउन उपसमिति गठन गरिएको समितिकी सभापति खगेश्वरी पौडेलले जानकारी दिइन् ।
गुरागाईंले आफूमाथि अनियमितताको आरोप सार्वजनिक भएपछि गत कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा दिएका थिए । उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो ।
अब संसदीय उपसमितिले आयोगका कामकारबाही र तत्कालीन अध्यक्षमाथि लागेका आरोपबारे छानबिन गरी प्रतिवेदन तयार गर्नेछ ।
