काठमाडौं । मलेसियामा कामदार पठाउने नाममा भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि अदालतले दुवैलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै अदालतसँग म्याद थपको माग गरेको थियो ।
यसै प्रकरणमा बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीन जनालाई पनि थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
थप म्याद पाउनेमा सापकोटासँगै व्यवसायी महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट रहेका छन् । उनीहरूलाई सापकोटासँग सम्बन्ध देखिएको आरोपमा पक्राउ गरिएको थियो ।
उनीहरूमाथि बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ ।
