सांकेतिक फोटो
विराटनगर । नेपाली नागरिकका बैंक खाता र डिजिटल वालेट प्रयोग गरी अनलाइन ठगीबाट संकलित रकम भारत हुँदै अन्य देश पठाउने गिरोहका चार जना विराटनगरबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीले पक्राउ गरेका चार जनामध्ये दुई जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका २६ वर्षीय ताहिर हुसेन र ३६ वर्षीय मोहम्मद सावुदिन तथा विराटनगरका ३१ वर्षीय जफर आलम र २३ वर्षीय फैयाज खान छन् ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूले नेपाली नागरिकलाई साथी बनाएर विभिन्न बैंक तथा डिजिटल वालेटका खाता नम्बर संकलन गर्ने गरेका थिए । आफ्नो बैंक खाता नभएको भन्दै साथीको खातामा रकम पठाउनुपर्ने बहाना बनाएर उनीहरूले अरूका बैंक खाता र ई–सेवा नम्बर लिने गरेको अनुसन्धानबाट खुलेको छ ।
ती खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा भएपछि फैयाज खानले खातावालालाई सम्पर्क गरी नगद निकाल्न लगाउने गरेका थिए । रकम उपलब्ध गराएबापत खातावालालाई दुई प्रतिशत कमिसन दिने र बाँकी रकम आफूले लिने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार फैयाजले संकलित रकममध्ये १० प्रतिशत आफूसँग राखेर बाँकी रकम मोहम्मद सावुदिन र जफर आलमलाई दिने गरेका थिए । उनीहरूले पनि १० प्रतिशत कमिसन राखेर बाँकी रकम ताहिर हुसेनलाई बुझाउने गरेको खुलेको छ ।
ताहिरले पाकिस्तानी नागरिकसँग सम्पर्क गरी उनीहरूको निर्देशनअनुसार भारतका विभिन्न बैंक खातामा रकम जम्मा गर्ने गरेको पाइएको डीएसपी मिश्रले बताए ।
प्रहरीका अनुसार हालसम्म विभिन्न बैंकका ४० वटा खाता प्रयोग गरी ठगी गरेको खुलेको छ । ठगीमा नबिल, एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंकका खाताहरू प्रयोग भएका थिए । त्यस्तै, ई–सेवाका १७ वटा खाता पनि प्रयोग गरिएको पाइएको छ ।
ठगीबाट संकलित रकम विभिन्न व्यक्तिमार्फत भारत पठाउने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पक्राउ परेका चारै जनाविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
डीएसपी मिश्रका अनुसार अहिलेसम्मको अनुसन्धानमा १५ लाख रुपैयाँभन्दा बढी ठगी भएको खुलेको छ । यद्यपि, अनलाइन माध्यमबाट अझै लाखौँ रुपैयाँ ठगी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पक्राउ परेका व्यक्तिहरू पाँच दिनअघि पक्राउ परेका थिए । उनीहरूले अनलाइन ठगीका लागि ठूलो गिरोह सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
ठगीमा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएकाले उनीहरूको खोजी भइरहेको छ । अनलाइन ठगीमा परेका पीडितलाई जाहेरी दिन जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
