काठमाडौं । ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्रीको उत्खनन र व्यवस्थापन गर्ने अधिकार संघीय सरकारमा मात्रै केन्द्रित नगर्न विज्ञहरूले सुझाव दिएका छन् । खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण र उपयोगमा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट रूपमा बाँडफाँट गर्नुपर्ने उनीहरूको माग छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि भएको छलफलमा विज्ञहरूले संघीयताको मर्मअनुसार तीनै तहका सरकारलाई अधिकार दिनुपर्ने बताएका हुन् ।
भूगर्भशास्त्री डा. कविराज पौडेलले ढुंगा, गिट्टी र बालुवाको ठूलो भण्डार उपयोग गर्न खानी विभागमा मात्रै निर्भर रहने व्यवस्था व्यावहारिक नहुने बताए । उनका अनुसार सीमित जनशक्ति भएको संघीय खानी विभागबाट मात्रै देशभरका निर्माणमुखी खनिजको व्यवस्थापन सम्भव छैन ।
स्थानीय तह र प्रदेशलाई आवश्यक अधिकार तथा दक्ष जनशक्ति दिएर खानी स्रोतको उपयोग गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, भूगर्भशास्त्री डा. पुरुषोत्तमप्रसाद अधिकारीले निर्माण सामग्रीको उत्खनन र व्यवस्थापनमा संघीय सरकारको अधिकार मात्रै प्रभावकारी नहुने बताए । उनले प्रदेश सरकारलाई पनि उत्पादन, व्यवस्थापन र आपूर्तिमा सक्रिय बनाउनुपर्नेमा जोड दिए ।
अधिकारीले नेपालका निर्माण सामग्री भारतका बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल र बंगलादेशसम्म निर्यात गर्न सकिने सम्भावना औंल्याए । उनका अनुसार बंगलादेशले निर्माणका लागि अन्य मुलुकबाट ढुंगा खरिद गरिरहेको अवस्थामा नेपालले नजिकको बजारलाई लक्षित गर्न सक्छ ।
यसका लागि सातै प्रदेशमा कर्पोरेसनजस्ता संस्थागत संरचना बनाएर खानी सञ्चालन, उत्पादन र आपूर्तिको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । खानी विकासलाई उत्खनन अनुमति दिने प्रक्रियामा मात्रै सीमित नगरी बजार, ढुवानी र औद्योगिक विकाससँग जोड्नुपर्ने उनले बताए ।
निजी क्षेत्रलाई पनि स्पष्ट अधिकार दिन माग
खानी क्षेत्रका परामर्शदाता अर्जुन भट्टराईले खनिज पदार्थको पहिचान, अन्वेषण र उत्खननमा निजी क्षेत्रको भूमिकासमेत कानुनमै स्पष्ट गर्नुपर्ने बताए ।
सरकारले मात्रै खानी सञ्चालन गर्दा विकासको गति सुस्त हुन सक्ने उनको भनाइ छ । उनले हेटौंडा र उदयपुर सिमेन्ट उद्योगको अवस्थालाई उदाहरण दिँदै रणनीतिक तथा महत्वपूर्ण खनिजको विकासमा सरकार र निजी क्षेत्रबीच स्पष्ट जिम्मेवारी बाँडफाँट आवश्यक रहेको बताए ।
उनले खनिज पदार्थलाई प्रकृतिअनुसार वर्गीकरण गरी कुन तहको सरकारले के गर्ने र निजी क्षेत्रको सहभागिता कहाँ रहने भन्ने विषय स्पष्ट पार्नुपर्ने सुझाव दिए ।
मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले भने प्रस्तावित विधेयकमा संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँट गर्ने प्रयास गरिएको बताए ।
उनका अनुसार संघीय सरकारले उत्खनन, प्रदेश सरकारले अन्वेषण र स्थानीय सरकारले संरक्षणको जिम्मेवारी पाउने व्यवस्था प्रस्ताव गरिएको छ । संविधान जारी भएपछि संघीय संरचनाअनुसार कानुन परिमार्जन गर्नुपर्ने आवश्यकता रहेकाले विधेयक ल्याइएको उनको भनाइ छ ।
तर, स्थानीय तह र प्रदेशको अधिकार सूचीमा रहेका खानी तथा खनिज पदार्थको व्यवस्थापनसम्बन्धी भूमिका कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा विज्ञहरूले उठाएको प्रश्नमा मन्त्रालयका तर्फबाट स्पष्ट जवाफ आउन सकेन ।
लगानी सुरक्षाका लागि अनुमति अवधि व्यावहारिक बनाउन सुझाव
छलफलमा खानी क्षेत्रमा लगानी आकर्षित गर्न अनुमति प्रक्रिया सहज र लगानीमैत्री बनाउनुपर्ने विषय पनि उठेको छ ।
विज्ञहरूले सबै खानीका लागि एउटै समयसीमा तोक्नुभन्दा खनिजको प्रकृति, भौगोलिक अवस्था, सम्भावित भण्डार र लगानीको आकारअनुसार अन्वेषण तथा उत्खनन अवधि निर्धारण गर्नुपर्ने बताएका छन् ।
डा. पुरुषोत्तमप्रसाद अधिकारीका अनुसार दुर्गम क्षेत्रमा रहेका खानीको अध्ययन गर्न सडक तथा अन्य पूर्वाधारकै अभाव हुन सक्छ । त्यस्तै, खनिजको भण्डार, गुणस्तर र आर्थिक सम्भाव्यता पहिचान गर्न लामो समय लाग्न सक्छ ।
अन्वेषणका लागि अनुमति पाएपछि नमुना संकलन, परीक्षण, भौगर्भिक विश्लेषण र आर्थिक सम्भाव्यता अध्ययन गर्नुपर्ने भएकाले पर्याप्त समय उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
परामर्शदाता भट्टराईले पनि खानी उद्योगको वर्गीकरण गर्दा दैनिक उत्पादनलाई मात्रै आधार बनाउन नहुने बताए । खनिजको प्रकृति, मूल्य, प्रविधि, लगानी र उत्पादन क्षमतालाई समेत आधार बनाउनुपर्ने उनको सुझाव छ ।
विशेषगरी दुर्गम क्षेत्रका खानीमा सडक निर्माण र उपकरण ढुवानी ठूलो चुनौती हुने गरेको उनले बताए । त्यसैले खानीको वास्तविक भण्डार, उत्पादन क्षमता र लगानीअनुसार अनुमति अवधि निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।
सञ्चालनमा रहेका खानी उद्योगलाई सामान्य उजुरी वा सतही सूचनाका आधारमा बन्द गर्ने वा अनुमति रद्द गर्ने निर्णय गर्न नहुने पनि उनले बताए । त्यस्ता निर्णय गर्दा स्पष्ट कानुनी आधार, सुनुवाइ र प्रक्रियाको व्यवस्था हुनुपर्ने उनको माग छ ।
अनुसन्धान र शैक्षिक गतिविधिमा सहजता माग
भूगर्भशास्त्री डा. कविराज पौडेलले खानी तथा खनिज पदार्थसम्बन्धी अनुसन्धान र शैक्षिक गतिविधिमा प्रशासनिक झन्झट कम गर्नुपर्ने बताए ।
प्रस्तावित विधेयकमा भूगर्भीय सर्वेक्षण, खनिज अध्ययन, भूकम्प मापन, उपकरण प्रयोग तथा नमुना संकलनका लागि समेत अनुमति लिनुपर्ने व्यवस्था छ ।
यसले विश्वविद्यालयका विद्यार्थीलाई स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययन तथा अनुसन्धानका क्रममा आवश्यक नमुना संकलन गर्नसमेत कठिनाइ हुन सक्ने भन्दै उनले यस्तो व्यवस्थालाई सहज बनाउनुपर्ने सुझाव दिए ।
अनुमति लिएर खानी ओगट्ने प्रवृत्ति रोक्ने सरकारको तयारी
सरकारले खानी अन्वेषण तथा उत्खननको अनुमति लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्ति रोक्न निश्चित समयसीमा तोक्ने प्रस्ताव गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बस्नेतका अनुसार कतिपय कम्पनीले खानीको अनुमति लिएर क्षेत्र ओगट्ने तर वास्तविक काम नगर्ने गरेका छन् । यसले खानी विकास गर्न चाहने अन्य लगानीकर्तालाई अवसरबाट वञ्चित गराएको उनको भनाइ छ ।
अनुमति लिएपछि काम नगर्ने प्रवृत्ति अन्त्य गर्न अन्वेषण र उत्खननका लागि निश्चित समयसीमा आवश्यक रहेको उनले बताए ।
तर, प्रस्तावित समयसीमा सबै प्रकारका खानीका लागि व्यावहारिक नहुने भए संसदीय छलफलबाट त्यसलाई परिमार्जन गर्न सकिने उनको भनाइ छ ।
विज्ञहरूले भने खानी स्रोतको प्रभावकारी उपयोगका लागि अधिकार बाँडफाँटसँगै लगानी सुरक्षा, निजी क्षेत्रको सहभागिता र प्रशासनिक सहजतालाई समेत विधेयकमा समेट्नुपर्नेमा जोड दिएका छन् ।
