काठमाडौं । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै मितिमा गराउने भन्ने विषयमा राजनीतिक दलहरूबीच मतभेद देखिएको छ। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवै तहको निर्वाचन एकैपटक गराउने पक्षमा देखिएका छन् भने नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टी छुट्टाछुट्टै निर्वाचन हुनुपर्ने अडानमा छन्।
निर्वाचनको ढाँचामै दलहरूबीच सहमति जुट्न नसकिरहेका बेला निर्वाचन आयोगले भने प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफलका लागि समयसमेत पाउन सकेको छैन।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति सरकारले तोक्नुपर्ने हुन्छ। त्यसका लागि निर्वाचन आयोगलाई कम्तीमा १२० दिनको तयारी अवधि आवश्यक पर्छ। तर, प्रधानमन्त्रीसँग भेटघाटको समय तय नहुँदा आयोगले सरकारसँग निर्वाचनको मिति र तयारीबारे औपचारिक छलफल अघि बढाउन सकेको छैन।
आयोगले आगामी चैतमा स्थानीय तहको निर्वाचन गराउने योजनासहित तयारी गरिरहेको जनाएको छ। तर, सरकारले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने योजना अघि सारेपछि आयोग थप स्पष्टताका लागि सरकारसँग छलफल गर्न चाहिरहेको छ।
यसअघि आयोगले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी अन्तरजिल्ला तथा विदेशमा रहेका नेपाली नागरिकले समेत मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरिसकेको छ। यद्यपि, दुवै तहको निर्वाचन एकैपटक गर्ने वा फरक–फरक समयमा गर्ने भन्ने विषयमा सरकारले कुनै निर्णय गरिसकेको छैन।
निर्वाचन आयोगका एक आयुक्तका अनुसार राजनीतिक दलहरूको धारणा र सरकारको निर्णय स्पष्ट भएपछि मात्रै निर्वाचनको ढाँचाबारे निष्कर्षमा पुग्न सकिनेछ।
‘हामी सरकारको निर्णय कुरेर बसेका छौँ। पार्टीगत छलफल भएपछि मात्रै केही आउला,’ ती आयुक्तले भने, ‘अर्को हप्तासम्म केही आउला कि।’
सरकारसँग छलफल हुन नसके पनि आयोगले निर्वाचनको प्राविधिक तयारी भने जारी राखेको छ। आयोगले मतपत्र प्रदेशमै छपाइ गर्ने तयारीसमेत गरिरहेको छ।
‘सरकारले जहिले भन्छ, त्यही बेला निर्वाचन गर्न हामी तयारी अवस्थामा बस्नुपर्छ,’ ती आयुक्तले भने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन चैतभित्रै हुनुपर्ने बताएका छन्। स्थानीय तहको निर्वाचनको प्रकृति र संवैधानिक व्यवस्थासमेत फरक रहेकाले प्रदेशसभाको निर्वाचनसँग जोड्न नहुने उनको धारणा छ।
नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले पनि स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउनु सहज र सम्भव नरहेको बताएका छन्।
उनका अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ४ गते सकिँदैछ भने प्रदेशसभाको कार्यकाल अझै करिब ६ महिना बाँकी छ। त्यसैले दुवै तहको निर्वाचन एउटै समयमा गराउँदा संवैधानिक तथा व्यावहारिक समस्या आउन सक्ने उनको तर्क छ।
‘स्थानीय र प्रदेश तहको चुनाव एकैपटक गर्ने कुरा त्यति सजिलो पनि छैन र सम्भव पनि छैन,’ ज्वालाले भने।
उनले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि नै निर्वाचन गराउनुपर्ने बाध्यता रहे पनि प्रदेशसभाको हकमा त्यस्तो अवस्था नरहेको बताए।
ज्वालाका अनुसार स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गराउनु संवैधानिक, कानुनी तथा व्यावहारिक दृष्टिले उपयुक्त हुनेछ।
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी भने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउनुपर्ने पक्षमा छन्।
रास्वपाले यस विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार निर्वाचन आयोगसँग भएको छलफल र अन्य राजनीतिक दलसँगको परामर्शपछि मात्रै पार्टीले आफ्नो धारणा टुंगो लगाउनेछ।
‘शीर्ष दलसँग आयोगले बोलाएको छलफलमा हामीले जे छलफल गर्यौँ, त्यसका आधारमा हामी राजनीतिक दलसँग छलफल गर्छौं। त्यसमा एकैचोटि गर्ने कि फरक–फरक गर्ने भन्ने टुंगो लगाउँछौँ,’ खरेलले भने।
उनका अनुसार पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाएर यस विषयमा राजनीतिक छलफल गरिनेछ।
‘हामी तयारी गरिरहेका छौँ। यसबीचमा सभापतिले राजनीतिक नेतृत्वमा छलफल गर्नुहुन्छ। त्यसपछि हामी एउटा निष्कर्षमा पुग्छौँ,’ खरेलले भने।
उनले रास्वपा अहिलेसम्म कुनै निश्चित निष्कर्षमा नपुगेको स्पष्ट पारे। राजनीतिक दल र सरकारसँगको छलफलपछि मात्रै निर्वाचनको ढाँचाबारे निर्णय गरिने उनको भनाइ छ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था छ। तर प्रदेशसभाको निर्वाचन कहिले गराउनुपर्ने भन्ने विषयमा संविधानले त्यस्तो स्पष्ट समयसीमा तोकेको छैन।
निर्वाचन आयोगका एक आयुक्तका अनुसार स्थानीय तहको निर्वाचन समयमै गराउनुपर्ने बाध्यता भए पनि प्रदेशसभाको निर्वाचनका लागि भने समय निर्धारण गर्ने विषयमा केही लचकता छ।
‘स्थानीयको चुनाव दुई महिनाअघि गराउनुपर्छ भनेर तोकिएको छ। प्रदेशसभाको समयावधि पाँच वर्षको हुनेछ भनिएको छ। तर चुनाव कहिले गराउनुपर्छ भन्ने कुरा लेखिएको छैन। हामीले कात्तिकमा गरे पनि भयो, असोजमा गरे पनि भयो,’ ती आयुक्तले भने।
उनका अनुसार कांग्रेस र रास्वपा एकैपटक निर्वाचन गराउने पक्षमा देखिएका छन् भने अन्य दलले यसबारे थप अध्ययन र छलफल गर्नुपर्ने धारणा राखेका छन्।
दलहरूबीच सहमति जुटेपछि आयोगले सरकारसँग परामर्श गरी निर्वाचनको मिति र आवश्यक तयारीलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ। तर, प्रधानमन्त्रीसँगको छलफल र राजनीतिक सहमति कहिले जुट्छ भन्ने विषय अझै अनिश्चित छ।
