फायल फोटो
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी स्थानीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्न कोशी प्रदेशका ४१ नगरपालिकामा एक जनाको पनि आवेदन परेको छैन ।
पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न सञ्चालन गरेको ‘क्यान्डिडेट क्लब’ अभियानअन्तर्गत वडाध्यक्ष पदमा अपेक्षित आकर्षण नदेखिएको हो ।
पार्टीको क्यान्डिडेट क्लबमार्फत आवेदन संकलन गर्दा नगरपालिका प्रमुख र उपप्रमुख पदमा भने आकांक्षी बढी देखिएका छन् । वडाध्यक्ष तथा वडा सदस्यजस्ता जनतासँग प्रत्यक्ष जोडिने पदमा तुलनात्मक रूपमा कम आवेदन परेको पाइएको छ ।
रास्वपाका सभापति रवि लामिछानेले पनि वडाध्यक्ष बन्ने आकांक्षी कम देखिएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले आवश्यक परे आफू सांसद पदबाट राजीनामा दिएर वडाध्यक्षमा चुनाव लड्न आउने टिप्पणीसमेत गरेका थिए ।
पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन प्रारम्भिक निर्वाचन, राजनीतिक निकटता, लिडरसिप एकेडेमी र समावेशितालाई आधार बनाएको छ । यसमध्ये प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत, राजनीतिक निकटतालाई २५ प्रतिशत, लिडरसिप एकेडेमीलाई २५ प्रतिशत र समावेशितालाई १० प्रतिशत भार दिइएको छ ।
यद्यपि, आवेदनको समयसीमा नतोकिएको र स्थानीय तह निर्वाचनको मिति पनि निश्चित नभएकाले आवेदन संख्या थप बढ्न सक्ने पार्टीका नेताहरूले बताएका छन् । स्रोत: नेपाल प्रेस
