काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
दुवै टोली जित निकाल्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् । काठमाण्डू ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पाँच खेल खेलेको उसले चार जित र एक हार बेहोरेको छ ।
सुदूरपश्चिमको पनि ८ अंक नै छ । तर, रनरेटका आधारमा काठमाण्डूभन्दा पछाडि रहेको छ । ६ खेल खेलेको सुदूरपश्चिमले चार जित र दुई हार बेहोरेको छ ।
यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
शुक्रबारको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् । दुवै टोलीका लागि यो खेल प्लेअफ यात्राका दृष्टिले महत्वपूर्ण हुनेछ ।
चितवन ५ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । पाँच खेल खेलेको चितवनले दुई जित र दुई हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
यता, जनकपुर ४ अंकसहित छैटौँ स्थानमा छ । समूह चरणको अन्तिम खेल खेल्न लागेको जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ । ६ खेल खेलेको जनकपुरले दुई जित र चार हार बेहोरेको छ ।
चितवन र जनकपुरबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।
