बिराटनगर । मोरङ क्षेत्र नम्बर–५ मा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। जनता समाजवादी पार्टी (अशोक राई ), राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीका संयुक्त उम्मेदवार नरेश लाभले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने घोषणा गर्दै रास्वपा प्रवेश गरेका छन् ।
लाभ ‘जातो’ चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए। उनले उम्मेदवारी निष्क्रिय बनाएसँगै मोरङ–५ को चुनावी समीकरणमा महत्वपूर्ण परिवर्तन आएको विश्लेषण गरिएको छ।
रास्वपाका नेता वीरेन्द्रकुमार साह ले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गर्दै लाभको निर्णयलाई “विचारको एकता र सिद्धान्तप्रतिको प्रतिबद्धता” का रूपमा व्याख्या गरेका छन्। उनले पदभन्दा माथि उठेर जनताको पक्षमा उभिने साहसिक कदम भएको उल्लेख गरेका छन्।
साहले लाभको निर्णयले परिवर्तनको अभियानलाई थप बलियो र व्यापक बनाउने विश्वास व्यक्त गर्दै मोरङ–५ मा रास्वपाकी उम्मेदवार आशा झाको जितको आधार मजबुत बनेको दाबी गरेका छन्।
यता, लाभको निर्णयबारे अन्य राजनीतिक दलहरूले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन्। मोरङ–५ मा आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूबीच ध्रुवीकरण तीव्र बन्दै गएको छ।
