काठमाडौं । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार शनिबार राति वर्षा सुरु भएपछि दुर्गा पूजा मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड भएको हो । केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुगेका मुख्यमन्त्री सुभेन्दु अधिकारीले घटनामा १९ जनाको मृत्यु भएको र २५ जना घाइतेको उपचार भइरहेको जानकारी दिएका छन् । उनले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने बताए ।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिइएको छ । भीड व्यवस्थापन र सुरक्षा प्रबन्धमा कमजोरी भए–नभएकोबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
दुर्गा पूजा मनाउन कोलकाताभरि करिब तीन हजार पाँच सय मण्डप निर्माण गरिएका छन् । घटनापछि सम्भावित जोखिम कम गर्न अधिकारीहरूले अत्यधिक भीड हुने स्थानहरू अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन् ।
भारतमा ठूला धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना पटक–पटक हुने गरेका छन् । लाखौँ मानिस सीमित क्षेत्रमा भेला हुने यस्ता अवसरमा पर्याप्त सुरक्षा व्यवस्था र प्रभावकारी भीड व्यवस्थापनको अभावले जनधनको क्षति हुने गरेको छ ।
यसअघि सन् २०२५ जनवरीमा महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न एकैपटक ठूलो सङ्ख्यामा तीर्थयात्री अघि बढ्दा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने डरले तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा ११५ जनाको ज्यान गएको थियो । उक्त घटनामा केही व्यक्तिको नदीमा डुबेर समेत मृत्यु भएको थियो ।
