विराटनगर । भगवद्गीताको ज्ञान, नैतिक मूल्य र सनातन संस्कृतिलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले सक्रिय गीता परिवारले आफ्नो अनलाइन कार्यक्रम ‘लर्नगीता’ को ५०औँ स्वर्णिम ब्याच सुरु गरेको छ। यस ब्याचमार्फत देश तथा विदेशका एक लाख नयाँ साधकले निःशुल्क भगवद्गीता अध्ययन सुरु गरेका छन्।
शुक्रबार, अक्टोबर १६ मा आयोजित भर्चुअल समारोहमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरसंघचालक डा. मोहन भागवत र गीता परिवारका संस्थापक स्वामी गोविन्ददेवगिरि महाराजको सान्निध्यमा नयाँ ब्याचको उद्घाटन गरिएको हो। १५ भाषामा सञ्चालन हुने ‘लर्नगीता’ का नियमित कक्षा अक्टोबर १९ देखि सुरु हुने जनाइएको छ।
के हो गीता परिवार?
गीता परिवारको स्थापना सन् १९८६ मा स्वामी गोविन्ददेवगिरि महाराजले बालबालिकालाई नैतिक मूल्य र संस्कारको शिक्षा दिने उद्देश्यले गरेका थिए। संस्थाले भगवद्गीताको ज्ञान, सनातन संस्कृति र जीवनमूल्यलाई समाजका विभिन्न तहसम्म पुर्याउन अनलाइन तथा प्रत्यक्ष कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका गतिविधि भगवद्भक्ति, भगवद्गीता, मातृभूमि, विज्ञान दृष्टि र स्वामी विवेकानन्दका विचार गरी पाँच सूत्रमा आधारित छन्। संस्थामा आबद्ध कार्यकर्ताले समाजको नैतिक तथा सांस्कृतिक उत्थान र राष्ट्र निर्माणका क्षेत्रमा निःस्वार्थ भावले काम गर्दै आएको जनाइएको छ।
गीता परिवारका प्रमुख अनलाइन कार्यक्रममध्ये भगवद्गीता अध्ययन तथा कण्ठस्थीकरणका लागि सञ्चालित ‘लर्नगीता’, श्रीविष्णुसहस्रनाम पाठ र श्रीरामरक्षा स्तोत्र कण्ठस्थीकरण कक्षा छन्। त्यस्तै, प्रत्यक्ष कार्यक्रमअन्तर्गत ध्यान, योग, प्राणायाम, गीता अध्ययन र शौर्य संस्कारसम्बन्धी गतिविधि सञ्चालन गरिन्छ।
१८२ देशका १८ लाख मानिस गीता अध्ययनमा
गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशु गोयलका अनुसार सन् २०२० जुनमा सुरु भएको ‘लर्नगीता’ अभियानले पछिल्ला छ वर्षमा उल्लेखनीय विस्तार गरेको छ। उनका अनुसार हाल १८२ देशका १८ लाख मानिसले १५ भाषामा गीता अध्ययन गरिरहेका छन्।
गीता अध्ययनलाई समुदायस्तरमा विस्तार गर्न संस्थाले ‘गीता गाउँ’ को अवधारणा अघि सारेको छ। यस अवधारणाअनुसार १०० भन्दा बढी परिवारले गीता अध्ययन सुरु गरेको क्षेत्रलाई ‘गीता गाउँ’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। संस्थाका अनुसार हालसम्म ११ वटा गीता गाउँ स्थापना भइसकेका छन्।
गीताको ज्ञान व्यवहारमा उतार्न भागवतको आग्रह
५०औँ लर्नगीता ब्याचको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आरएसएसका सरसंघचालक डा. मोहन भागवतले भगवद्गीता पढ्ने ग्रन्थ मात्र नभई जीवनमा व्यवहारमा उतार्नुपर्ने ज्ञान भएको बताए।
उनले परिस्थितिबाट भाग्नुको सट्टा त्यसको सामना गर्न र आसक्तिरहित भएर आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरे।
“नभाग्नुहोस्, परिस्थितिहरूको सामना गर्नुहोस्, यही गीताको सार हो,” उनले भने।
भागवतले भारतमा राष्ट्रकार्य र धर्मकार्यलाई एकअर्काबाट अलग गरेर हेर्न नहुने उल्लेख गर्दै भगवद्गीताको ज्ञानले समस्त मानवजातिको कल्याणको मार्ग प्रशस्त गर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेवगिरि महाराजले पनि गीता सबैका लागि उपयोगी ज्ञान भएको बताए। उनले गीता पढ्ने, पढाउने र त्यसको ज्ञानलाई व्यवहारमा लागू गर्ने अभियानमा सहभागी हुन आह्वान गरे।
गर्भवती आमाका लागि विशेष कक्षा
५०औँ स्वर्णिम ब्याचको शुभारम्भका अवसरमा गीता परिवारले गर्भवती आमाका लागि विशेष ‘गर्भवती माता ब्याच’ समेत सुरु गरेको छ। भावी पुस्तामा असल संस्कारको बीजारोपण गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको संस्थाले जनाएको छ।
समारोहमा बालबालिकाले भगवद्गीताका श्लोक विभिन्न क्रममा अर्थसहित र कण्ठस्थ रूपमा प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिको डा. भागवतले प्रशंसा गरेका थिए।
कार्यक्रमको सञ्चालन गीता परिवारका प्रधान कार्याध्यक्ष डा. सञ्जय मालपाणीले गरेका थिए। संस्थाकी मार्गदर्शक सुवर्णा मालपाणीले ‘गीता संथा’ कार्यक्रमको शुभारम्भ गरेकी थिइन् भने लर्नगीताका संरक्षक जगदीश राठीले धन्यवाद ज्ञापन गरेका थिए।
अयोध्यामा गीता जयन्ती महोत्सव हुने
गीता परिवारले यस वर्षको गीता जयन्तीका अवसरमा डिसेम्बर १९ र २०, २०२६ मा भारतको अयोध्यास्थित कारसेवकपुरममा ‘अवध गीता शङ्खनाद–रामः शस्त्रभृतामहम्’ आयोजना गर्ने जनाएको छ।
स्वामी गोविन्ददेवगिरि महाराजको सान्निध्यमा हुने महोत्सवमा सन्त समागम, संगीतमय गीता पारायण, शोभायात्रा र सरयू पूजालगायत कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
गीता परिवारले भगवद्गीताको ज्ञान, नैतिक मूल्य र सनातन संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित आफ्ना गतिविधि विस्तार गर्दै आएको छ।
