विराटनगर । विराटनगर–३, गोग्राह चोकमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालनमा आएको छ। बेड, म्याट्रेस तथा आरामदायी निद्राका लागि आवश्यक विभिन्न उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका हुन ।
स्टुडियोमा ग्राहकको आवश्यकता र बजेटअनुसार १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका बेड, म्याट्रेस तथा अन्य उत्पादन उपलब्ध रहेको सञ्चालकले बताएका छन्।
फोर स्टार म्याट्रेस कम्पनीका अध्यक्ष ताराबहादुर कट्वालले मानिसको स्वास्थ्य र आरामसँग प्रत्यक्ष जोडिएको ओछ्यानलाई अझै पनि पर्याप्त प्राथमिकता दिने नगरिएको बताए । दैनिक आठ घण्टा आराम गर्ने ओछ्यानको महत्वलाई ध्यानमा राख्दै विभिन्न प्रकारका उत्पादन ग्राहकसमक्ष पुर्याउने उद्देश्यले स्टुडियो स्थापना गरिएको उनको भनाइ छ।
‘आठ घण्टा आरामको साथी भनेको ओछ्यान हो, तर यसलाई अझै पनि बेवास्ता गर्ने गरिएको छ,’ कट्वालले भन्नुभयो, ‘विश्व बजारमा उपलब्ध विभिन्न प्रकारका उत्पादन नेपाली ग्राहकलाई उपलब्ध गराउनु हाम्रो उद्देश्य हो।’
उहाँले कम्पनीका उत्पादनमा वारेन्टी तथा ग्यारेन्टीको व्यवस्था रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनको गुणस्तर र सेवामा जोड दिए ।
सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टार कम्पनीले सेवा विस्तार गर्ने क्रममा विराटनगरमा स्टुडियो स्थापना गरेको हो। विराटनगरस्थित स्टुडियोका सञ्चालक दिवश बजगाईंका अनुसार बेड तथा म्याट्रेसलाई मात्रै केन्द्रमा राखेर स्थापना गरिएको यो स्टुडियो नेपालकै पहिलो हो।
स्टुडियो स्थापनामा करिब एक करोड रुपैयाँ लगानी गरिएको बजगाईंले जानकारी दिनुभयो। ग्राहकको माग र व्यवसाय विस्तारसँगै लगानी थप बढाउँदै लैजाने योजना रहेको उनले बताए।
स्टुडियोको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए। स्वदेशमै उत्पादित वस्तुको प्रयोगले स्थानीय उद्योगको विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने उनको भनाइ छ ।
‘स्वदेशी उत्पादनलाई प्रयोग गरौँ र आफ्नै उद्योगलाई प्रोत्साहन गरौँ,’ राउतले बताए । विराटनगरमा नयाँ स्टुडियो सञ्चालनमा आउनु सकारात्मक भएको उल्लेख गर्दै उहाँले यसले स्थानीय बजारमा सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा फोर स्टारकी ब्रान्ड एम्बेसडर सम्भावना भण्डारी, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै ग्राहकलाई बेड तथा म्याट्रेसका विभिन्न विकल्प उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको स्टुडियोले विराटनगरसहित आसपासका क्षेत्रका उपभोक्तालाई सेवा दिने सञ्चालक बजगाईंले बताए ।
