दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, मृत्यु हुनेको संख्या २१ पुगेको दाबी
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित मालवीय नगर क्षेत्रमा रहेको ‘लेमन ग्रीन’ नामक रेस्टुरेन्टमा भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको दाबी गरिएको छ । यद्यपि प्रशासनले हालसम्म चार जनाको शव फेला परेको पुष्टि गरेको छ ।
स्थानीय भाजपा विधायक सतिश उपाध्यायले आगलागीमा २१ जनाको मृत्यु भएको र ४७ जनाको उद्धार गरिएको बताएका छन् । उनका अनुसार घटनास्थलमा ठूलो मानवीय क्षति भएको छ ।
यता शौरभ भारद्वाजले आगलागीमा २१ जना जीवितै जलेर मृत्यु भएको दाबी गर्दै मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् । उनले उपचारका लागि विभिन्न स्थानबाट आएका सर्वसाधारण उक्त भवनमा बसिरहेको उल्लेख गर्दै सरकारको लापरबाहीमाथि प्रश्न उठाएका छन् ।
भारतको प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
दक्षिणी दिल्लीस्थित विपद् व्यवस्थापन प्राधिकरणका एसडीएम जितेन्द्र कुमारका अनुसार आगलागी भएको भवनको भुइँतलामा रेस्टुरेन्ट सञ्चालनमा रहेको थियो । प्रारम्भिक अनुमानअनुसार आगलागी रेस्टुरेन्टबाटै सुरु भएको हुनसक्ने भए पनि यसको वास्तविक कारण अझै खुलेको छैन ।
उनले हालसम्म चार जनाको शव फेला परेको, सातदेखि आठ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको तथा घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
आगलागीपछि उद्धार तथा राहत कार्य तीव्र पारिएको छ भने घटनास्थलमा सुरक्षा निकाय र दमकल टोली परिचालित छन् । प्रशासनले मृतक तथा घाइतेको यकिन विवरण संकलन गरिरहेको जनाएको छ ।
