फायल फोटो
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।
शनिबार भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो । यो हारसँगै लिग–२ को अंकतालिकामा नेपालको शीर्ष ६ मा रहने सम्भावना दबाबमा परेको छ । शीर्ष ६ मा स्थान सुरक्षित गर्न नेपालले सोमबार हुने खेलमा आयोजक ओमानलाई हराउनुपर्नेछ ।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए । उनले ११२ बलमा चार चौका प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २७, गुल्शनकुमार झा र इशान पाण्डेले समान २१, आसिफ शेखले २०, कप्तान रोहितकुमार पौडेलले १८ तथा करण केसीले अविजित १७ रन बनाए ।
बलिङतर्फ क्यानडाका सुखजिन्दर सिंहले तीन विकेट लिए । कलिम साना र सहिल पटेलले समान दुई तथा जाहिद शिर्जादले एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो ।
क्यानडाका युवराज समराले उत्कृष्ट ब्याटिङ गर्दै १०५ रन बनाए । उनले ११७ बलमा ११ चौका र चार छक्का प्रहार गरे । यस्तै, आरोन जोनसनले ३६, हर्ष थाकरले ३४, समित गोहेलले १७ तथा आदित्य वर्दराजनले १२ रनको योगदान दिए ।
नेपालका ललितनारायण राजवंशीले चार विकेट लिए भने कप्तान सन्दीप लामिछानेले तीन विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहितकुमार पौडेलले एक विकेट लिए ।
यस जितसँगै क्यानडा ३६ खेलबाट २९ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित नेपाल भने ३५ खेलमा २८ अंकसहित सातौँ स्थानमा झरेको छ ।
क्यानडाले जितसँगै शीर्ष ६ मा पर्ने सम्भावना जीवित राखेको छ । नेपालको शीर्ष ६ मा रहने सम्भावना भने अब ओमानविरुद्धको खेलको नतिजामा निर्भर हुनेछ ।
