विराटनगर । कोशी प्रदेशसभाको नवौँ अर्थात् बजेट अधिवेशन असोज २४ गते शनिबार मध्यरातिदेखि औपचारिक रूपमा अन्त्य भएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।
अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाउँदै चालु अधिवेशनको समीक्षा प्रस्तुत गरिएको थियो। समीक्षाअनुसार अधिवेशन अवधिभर प्रदेशसभाका ३५ वटा बैठक सम्पन्न भए। ती बैठकमा बजेट तथा नीति कार्यक्रमका साथै कानुन निर्माण, समसामयिक राजनीतिक घटनाक्रम र जनसरोकारका विभिन्न विषयमा छलफल भएको थियो।
यस अधिवेशनका क्रममा राजनीतिक रूपमा पनि महत्वपूर्ण घटनाक्रम देखिए। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए।
सरकारी कामकाजको भाषा विधेयक र प्रदेशसभा नियमावली पारित
नवौँ अधिवेशनले बजेटसम्बन्धी नियमित विधेयक पारित गर्नुका साथै विभिन्न महत्वपूर्ण कानुनी उपलब्धि हासिल गरेको छ। अधिवेशनबाट प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक तथा कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन्।
यसैगरी प्रदेशसभा नियमावली पनि पारित भएको छ। सरकारी कामकाजको भाषासम्बन्धी विधेयक र चार वर्षपछि बनेको प्रदेशसभा नियमावलीलाई अधिवेशनका महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
दलित अधिकार विधेयक अझै समितिमै
अधिवेशनमा विभिन्न महत्वपूर्ण विधेयक पारित भए पनि जनसरोकारसँग जोडिएका केही कानुन निर्माण प्रक्रिया भने पूरा हुन सकेनन्। लामो समयदेखि प्रतीक्षामा रहेको दलित अधिकारसम्बन्धी विधेयक अझै संसदीय समितिमा दफावार छलफलको चरणमै रहेको छ।
यसले अधिवेशनबाट केही महत्वपूर्ण कानुनी उपलब्धि हासिल भए पनि सबै प्राथमिकताका विधेयकलाई निष्कर्षमा पुर्याउन नसकिएको देखाएको छ।
सांसदका प्रश्नमा मन्त्रीहरूको जवाफ
प्रदेश सरकारलाई प्रदेशसभाप्रति उत्तरदायी र जवाफदेही बनाउने उद्देश्यले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएका जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अभ्यासलाई यस अधिवेशनमा पनि निरन्तरता दिइएको थियो।
त्यस्तै, विभिन्न संवैधानिक तथा प्रदेशस्तरीय आयोगका वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गरी थप छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाइएको थियो। प्रदेशसभा मातहतका विभिन्न विषयगत समितिहरूले पनि आफ्ना वार्षिक कामकारबाहीका प्रतिवेदन सभासमक्ष पेस गरेका थिए।
चाडपर्वको शुभकामना दिँदै अधिवेशन अन्त्य
अधिवेशन अन्त्यको घोषणा गर्नुअघि सभामुख अम्बरबहादुर विष्टले नजिकिँदै गरेका विजया दशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत्लगायतका पर्वका अवसरमा प्रदेशसभा सदस्य र सम्पूर्ण देशवासीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए।
३५ वटा बैठक सम्पन्न गर्दै अन्त्य भएको नवौँ अधिवेशनले बजेट पारित, कानुन निर्माण र संसदीय गतिविधिलाई निरन्तरता दिए पनि दलित अधिकारसम्बन्धी विधेयकजस्ता महत्वपूर्ण विषय भने आगामी संसदीय प्रक्रियाका लागि बाँकी राखेको छ।
