विराटनगर । कोशी प्रदेश सभाबाट पुनः विधायन समितिमा आम संचार विधेयक फिर्ता भएपछि नेपाली कांग्रेस संसदीय दलले पत्रकारहरुसँग छलफल गरेको छ । बिहीबार संसदीय दलका नेता उद्धव थापाले नेपाली कांग्रेस कोशी प्रदेश कार्यालयमा यसबारे छलफल गरेका हुन् ।
त्यस अवसरमा थापाले पत्रकारहरुका लागि ल्याइने ऐन समय सापेक्ष र पत्रकारहरुको हक अधिकार सुनिश्चित हुने गरी आउने बताए । उनले भने,‘‘यसअघि भएका कमी कमजोरी सच्याएर संशोधन सहित पारित गरेर ल्याउने छौं ।’’
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले पहिले भएका कतिपय कमजोरीहरु अध्ययन गरिसकेको र त्यसलाई सच्याएर ल्याइने बताए ।
पत्रकारलाई धरपकड गर्ने, जरिवाना गर्ने आदि विषयमा विरोध गर्दै नेपाल पत्रकार महासंघ, संसदीय पत्रकार मंच कोशी तथा अन्य पेशागत पत्रकारजन्य संघ संगठनले आन्दोलन गरेका थिए । यो विधेयक एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका रेवती रमण भण्डारीले ल्याएका थिए तर यसको चर्को विरोध भएको थियो ।
