काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी उद्योग–व्यवसायसँगै राजनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्दै अघि बढिरहेका छन्। नेकपा एमालेबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका चौधरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका छन्। उनको राजनीतिक यात्राको विशेष पक्ष भनेको संसदीय प्रवेशदेखि पार्टीको केन्द्रीय नेतृत्वसम्म समावेशी तथा समानुपातिक प्रतिनिधित्वको बाटोबाट अघि बढ्नु हो।
कांग्रेसको समावेशी उपसभापति पदमा चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका थिए।
अर्बौंको व्यवसाय, विश्वव्यापी सञ्जाल
फोर्ब्सले सन् २०२५ मा सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार चौधरीको सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर थियो। उक्त सूचीमा उनी विश्वका धनाढ्य व्यक्तिहरूमध्ये १ हजार ९८२औँ स्थानमा थिए।
७० वर्षीय चौधरी चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका अध्यक्ष हुन्। उनको नेतृत्वमा रहेको व्यावसायिक समूहले विभिन्न देशमा उद्योग, व्यापार तथा सेवाका क्षेत्रमा लगानी विस्तार गरेको छ। समूहअन्तर्गत १६० कम्पनी र १२३ ब्रान्ड आबद्ध रहेको बताइन्छ। पाँचवटै महादेशका २७ देशमा यसको उपस्थिति छ।
चाउचाउको विश्व बजारमा वाइ–वाइ ब्रान्डको विस्तारले पनि चौधरीलाई अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान दिलाएको छ। राजनीतिमा आउनुअघि उनले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघसँग सम्बन्धित नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेका थिए।
एमालेबाट सुरु भएको राजनीतिक यात्रा
पञ्चायतकालमा तत्कालीन राजपरिवारका सदस्य तथा राजनीतिज्ञहरूसँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ सालको राजनीतिक परिवर्तनपछि एमालेसँग नजिकिएका थिए। उनले २०६४ सालमा नेकपा एमालेबाट औपचारिक राजनीतिक यात्रा सुरु गरे। पहिलो संविधानसभा निर्वाचनपछि एमालेको समानुपातिक सूचीबाट सभासद बनेका उनी प्रत्यक्ष निर्वाचनबाट नभई समानुपातिक प्रतिनिधित्वमार्फत संसदीय राजनीतिमा प्रवेश गरेका थिए।
२०७४ सालमा उनी नेपाली कांग्रेसमा प्रवेश गरे। कांग्रेसको १४औँ महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनले २ हजार २०६ मत प्राप्त गरेका थिए। यसरी एमाले हुँदै कांग्रेससम्म आइपुग्दा उनले पार्टीभित्र आफ्नो राजनीतिक स्थान क्रमशः विस्तार गर्दै लगे।
चुनावी हारपछि पनि पार्टीमा उकालो
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेसको उम्मेदवार बनेर निर्वाचित भएका थिए। तर त्यसपछिको प्रतिनिधिसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालसँग पराजित भए।
प्रत्यक्ष निर्वाचनमा पराजित भए पनि पार्टीभित्र उनको राजनीतिक यात्रा भने रोकिएन। सुरुमा शेरबहादुर देउवा समूहमा रहेका चौधरी पछिल्लो समय गगन थापा नेतृत्वको समूहमा आबद्ध भएका थिए। विशेष महाधिवेशनमा सहभागी भएका उनी अहिले थापा नेतृत्वको कार्यसमितिमा उपसभापति बनेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ चन्द्रकान्त भण्डारी ३ हजार ७३५ मत र मधु आचार्य २ हजार ३४२ मतसहित उपसभापतिमा निर्वाचित भएका छन्। महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
कांग्रेसको संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ।
उद्योग–व्यवसायमा स्थापित पहिचान बनाएका चौधरीको कांग्रेस उपसभापतिसम्मको यात्रा नेपाली राजनीतिमा आर्थिक हैसियत, पार्टीगत समीकरण र समावेशी प्रतिनिधित्वको भूमिकाबारे चर्चा गर्ने एउटा महत्वपूर्ण उदाहरण बनेको छ।
