गोरखा।बुढीगण्डकी नदीमा अचानक आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३, सल्लेरीमा निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। बाढीले क्याम्पसँगै केही निर्माण उपकरणसमेत बगाएको छ।
३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त उक्त जलविद्युत् आयोजना निर्माणका क्रममा रहेको छ। आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ।
साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले आयोजनाको निर्माण गरिरहेको छ। आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाएका छन्।
आयोजनाको बाँध गोरखाको चुमनुब्री गाउँपालिका–३ मा निर्माण हुनेछ भने विद्युत् गृह धार्चे गाउँपालिका–३ मा रहनेछ। कम्पनीका अनुसार बाँध क्षेत्र र विद्युत् गृहबीचको दूरी जोड्ने सडक करिब १० किलोमिटर रहेको छ।
बाढीका कारण आयोजनाको निर्माण कार्यमा परेको असर तथा क्षतिको विस्तृत विवरण भने उपलब्ध छैन।
