विराटनगर। जेनजी आन्दोलनका कारण विराटनगर महानगरपालिकामा लगभग १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। मेयर नागेश कोइरालाका अनुसार, यस अवधिमा भौतिक संरचनामा मात्रै २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँको क्षति भएको छ, जुन क्षति महानगरको प्रशासनिक भवनसँगै वडा नम्बर १ देखि १२ र १९ सम्मका क्षेत्रहरूमा भएको हो।
त्यस्तै, जिन्सी सामग्रीहरूको क्षतिमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँको नुकसानी भएको जानकारी महानगरले दिएको छ। यसमा स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्री र अन्य सामानहरू समावेश छन्। मेयर कोइरालाले भने, “वडागत रूपमा क्षतिको पूर्ण विवरण संकलन गर्नुपर्ने भएकाले यसको रिपोर्ट तयार हुन समय लागेको हो।”
उनले थपे, “यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो। त्योभन्दा ठूलो क्षति भनेको जनताका महत्त्वपूर्ण कागजपत्रहरू जल्नु हो। घरजग्गा शाखा पूर्ण रूपमा जलेर सबै कागजपत्र नष्ट भएका छन्। अन्य महाशाखाका कागजपत्रहरू पनि जलेर नष्ट भएका छन्, र ती सबै कागजपत्रहरू जनतासँग सम्बन्धित थिए।”
समग्रमा भौतिक संरचना र जिन्सी सामग्रीको कुल क्षति ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ पुगेको छ, जसले महानगरको विकासमा ठुलो असर पुर्याउने निश्चित छ। मेयर कोइरालाले भने, “महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने छ, तर सेवा प्रवाहमा कुनै कमी आउन दिन्नौं।”
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ जलेर नष्ट भएको थियो। प्रशासनिक भवनमा आगजनी गर्दा अधिकांश महाशाखाहरू खरानी भएका थिए। आगजनीको कारणले जनतालाई सेवा दिन कठिनाइ भएको भए पनि, टेन्टमार्फत सेवा जारी राखिएको मेयर कोइरालाले बताए।
उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् कि न्यायिक समितिको इजलास टेन्टमै बस्नुपरेको छ। हरेक सोमबार र बुधबार न्यायिक इजलास बस्ने गरेको उनले बताइन्।
महानगरबाट प्रवाह हुने अधिकांश सेवाहरू अहिले पूर्ववत् रूपमा सुचारु भएको र प्राविधिक जाँचपछि बस्न योग्य भवनहरूमा रंगरोगन, विद्युत र इन्टरनेट जडान भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले जानकारी दिएका छन्।
