धादिङ । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागले धादिङसहित आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय गरेको हो।
प्रशासनका अनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द रहनेछ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जारी गरेको सूचनामा यात्रु तथा चालकलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
यस्तै, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ।
