विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै मोरङ क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापतिका लागि चार नेताको नाम चर्चामा आएको छ। क्षेत्रीय सभापति को बन्ने भन्ने विषयलाई लिएर अहिले क्षेत्रभर कांग्रेस कार्यकर्ताबीच चर्चा सुरु भएको छ।
क्षेत्रीय सभापतिका लागि रंगेली नगरपालिका ५ निवासी निरञ्जन मण्डल, धनपालथान गाउँपालिका ३ निवासी शुकदेव प्रसाद मण्डल, वर्तमान क्षेत्रीय सभापति तथा धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गच्छदार र धनपालथान गाउँपालिका ७ निवासी सुबोध कुमार सिंहको नाम चर्चामा रहेको छ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार क्षेत्रीय अधिवेशन असोज १० गते हुँदैछ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको निर्वाचन क्षेत्रका रूपमा परिचित यस क्षेत्रमा क्षेत्रीय सभापतिको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ। पार्टीभित्र अर्यालको समर्थन पाउने उम्मेदवारको पक्ष बलियो हुने आकलनसमेत कांग्रेस कार्यकर्ताबीच हुन थालेको छ।
मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत विराटनगर महानगरपालिकाका वडा नम्बर १३ देखि १८ सम्मका ६ वडा, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका र रंगेली नगरपालिकाका वडा नम्बर ४ देखि ७ सम्मका ४ वडासहित जम्मा २४ वडा रहेका छन्। यस क्षेत्रमा करिब ६५० क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।
क्षेत्रीय सभापतिका रूपमा चर्चामा रहेका नेताहरू अहिले नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन्। वडा अधिवेशन सम्पन्न भएसँगै उनीहरूले क्षेत्रीय प्रतिनिधिसँगको सम्पर्क र भेटघाटलाई समेत तीव्र बनाएका छन्।
क्षेत्रीय सभापति पदलाई आगामी स्थानीय तथा पार्टीगत निर्वाचनका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ। क्षेत्रीय संगठनमा प्रभाव राख्ने तथा उम्मेदवार छनोट प्रक्रियामा भूमिका खेल्न सक्ने भएकाले सभापतिका आकांक्षीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। त्यसअघि क्षेत्रीय अधिवेशनबाट नेतृत्व चयन हुने भएकाले मोरङ ५ को क्षेत्रीय सभापतिको निर्वाचनलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ।
