विराटनगर । अवैध रजनीगन्धासहित सशस्त्र प्रहरीको नियन्त्रणमा परेका सुरेश यादव विराटनगर भन्सार कार्यालयबाट धरौटी बुझाएर रिहा भएका छन्। विराटनगर-१४ स्थित घरबाटै बरामद सामानसहित पक्राउ परेका यादवलाई भन्सारले तीन दिन हिरासतमा राखेर छाडेको हो।
तर, नियमानुसार धरौटी बुझाएपछि पनि भन्सारका कर्मचारी र बिचौलियाको मिलेमतोमा अतिरिक्त रकम नबुझाई उनलाई नछाडिएको गम्भीर आरोप लागेको छ।
बरामद सामानको मूल्याङ्कन अनुसार साढे तीन लाख रुपैयाँको हाराहारीमा धरौटी रकम कायम गरिएको थियो।
शुक्रबार निर्धारित धरौटी बापतको ३ लाख ३८ हजार ४०० रुपैयाँ र थप १ लाख ५० हजार रुपैयाँ बुझाएपछि मात्रै भन्सारले उनलाई छाड्ने पत्र तयार पारेको थियो। सोही पत्रका आधारमा उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट मुक्त भएका हुन्।
बिचौलियामार्फत रकमको मोलमोलाइ
सशस्त्र प्रहरीले कारबाही अघि बढाउँदा नै धरौटी रकम स्पष्ट भइसकेको अवस्थामा पनि भन्सार कार्यालयले बुधबार र बिहीबार यादवलाई छुटाउने प्रक्रिया रोकेको थियो।
शुक्रबार अबेरसम्म पनि अल्झाएर शनिबार र आइतबारसमेत थुनामा राख्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिएपछि यादव थप रकम बुझाउन बाध्य भएका हुन्।
यस प्रकरणमा विराटनगर भन्सारका ‘सुरक्षित बिचौलिया’ मानिने सौरभ धाडेवालले सेटिङ मिलाएको आरोप छ। दिनभर सौरभ र सबनमबिच रकम लेनदेनको विषयमा संवाद भएको दाबी गरिए पनि धाडेवालले भने यादवलाई छुटाउने मामलामा आफ्नो कुनै भूमिका नरहेको बताएका छन्। धाडेवाल भन्सारबाट लिलाम बुझ्ने काममा सक्रिय रहँदै आएका छन्।
यता, भन्सारका कर्मचारी भने अनियमितताको आरोप अस्वीकार गर्छन्। विराटनगर भन्सार मुद्दा फाँटका नायब सुब्बा अजय जैसवालले कुनै मोलमोलाइ नभएको दाबी गर्दै मूल्याङ्कन प्रतिवेदन तयार गर्ने क्रममा कानुनी प्रक्रियागत ढिलाइ मात्र भएको दाबी गरे।
घटनाबारे प्रतिक्रिया लिन यादवसँग फोनमा सम्पर्क गर्न खोज्दा उनको फोन उठ्न सकेन।
