जनकपुरधाम । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई रेलमार्गले जोडेपछि धार्मिक पर्यटन विस्तारको नयाँ सम्भावना खुलेको छ । भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामबीच सुरु भएको ‘सरयू–कमला एक्सप्रेस’ रेलसेवाले दुई धार्मिक सहरबीचको आवागमन सहज बनाएको छ ।
करिब ६०४ किलोमिटर दूरी १९ घण्टामा पार गर्दै रेल जनकपुरधाम पुग्न थालेपछि भारतीय तीर्थयात्रीलाई जनकपुर आउन सहज भएको छ । विशेषगरी अयोध्यास्थित राममन्दिर दर्शन गरेर जनकपुर आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
जनकपुरधाममा सुरु हुन लागेको विवाहपञ्चमी महोत्सवले पनि रेलसेवाको महत्व बढाएको छ । प्रत्येक वर्ष विवाहपञ्चमीमा नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ श्रद्धालु जनकपुर आउने गर्छन् । यसपटक रेलसेवा सञ्चालनमा आएसँगै भारतीय तीर्थयात्रीको आगमन थप बढ्ने अनुमान गरिएको छ ।
तर, जनकपुरका लागि चुनौती पर्यटक ल्याउनु मात्रै होइन, उनीहरूलाई लामो समयसम्म यहाँ टिकाइराख्नु पनि हो ।
पर्यटकलाई मधेशका अन्य गन्तव्यसम्म पुर्याउने योजना
पर्यटन व्यवसायीहरूले जनकपुरलाई एकदिने धार्मिक गन्तव्यमा सीमित नराखी धार्मिक, सांस्कृतिक, प्राकृतिक र मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउनुपर्ने बताएका छन् ।
पर्यटन व्यवसायी युवराज लामाले अयोध्या–जनकपुर रेलसेवाले जनकपुरसँगै मधेश प्रदेश र समग्र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
उनका अनुसार जानकी मन्दिर दर्शनपछि पर्यटकलाई बाराको गढीमाई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्जलगायतका गन्तव्यसम्म पुर्याउने प्याकेज बनाउन सकिन्छ । यसका लागि धार्मिक तथा पर्यटकीय गन्तव्यलाई जोडेर नयाँ पर्यटकीय सर्किट निर्माण र प्रचारप्रसार गर्न आवश्यक छ ।
त्यस्तै, पर्यटन व्यवसायीहरूको संस्था नाटा अध्यक्ष भरतजंग पाण्डेले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए । पोखरा, सौराहा, लुम्बिनी र काठमाडौंजस्ता स्थापित पर्यटकीय गन्तव्यसँग जनकपुरलाई जोडेर प्याकेज सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
विवाहपञ्चमीले बढाउँछ व्यापार, तर चहलपहल केही दिनमै सकिन्छ
जनकपुरधामको पहिचानसँग जोडिएको विवाहपञ्चमी साताव्यापी धार्मिक तथा सांस्कृतिक उत्सव हो । यस अवधिमा साधुसन्त, महन्थ र श्रद्धालुको ठूलो भीड लाग्ने गर्छ ।
यस वर्ष मंसिर २३ देखि २९ गतेसम्म विवाहपञ्चमी महोत्सव आयोजना हुँदैछ । महोत्सवअन्तर्गत नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर, शुभविवाह र रामकलेवा कार्यक्रम हुनेछन् ।
महोत्सवका बेला होटल, धर्मशाला रेस्टुरेन्टदेखि स्थानीय बजारसम्म चहलपहल बढ्छ । फूलमाला, मिठाई, पूजासामग्री, यातायात तथा मिथिला कला र हस्तकलासँग जोडिएका व्यवसायले समेत लाभ लिने गरेका छन् ।
तर, महोत्सव सकिएपछि पर्यटकको चहलपहल पनि घट्ने गरेको स्थानीय व्यवसायीको अनुभव छ । जानकी मन्दिरअगाडि फूलमाला बेच्ने चन्द्रिका मालीका अनुसार महोत्सवको केही दिन व्यापार राम्रो भए पनि त्यसपछि पर्यटक फर्किएसँगै बजार सुनसान हुने गर्छ ।
उनले पर्यटकको बसाइ लम्ब्याउने र भीड व्यवस्थापनमा स्थानीय सरकार तथा व्यवसायीले विशेष ध्यान दिनुपर्ने बताइन् ।
जानकी मन्दिरबाहेक पनि छन् आकर्षक गन्तव्य
जनकपुर आउने अधिकांश पर्यटकको मुख्य आकर्षण जानकी मन्दिर हुने गरेको छ । तर, यहाँको पर्यटन सम्भावना एउटा मन्दिरमा मात्रै सीमित छैन ।
राम मन्दिर, विवाहमण्डप, धनुषसागर, गंगासागर, रत्नसागरसहित मिथिला चित्रकला, परम्परागत खानपान, लोकसंस्कृति र स्थानीय जीवनशैली पर्यटकका लागि आकर्षण बन्न सक्छन् ।
होटल मिथिला थालीका सञ्चालक सन्तोष साहले जानकी मन्दिर दर्शन गरेर केही घण्टामै फर्किने पर्यटकलाई कम्तीमा एक–दुई दिन जनकपुरमै बस्ने वातावरण बनाउनुपर्ने बताए ।
उनले मिथिला संस्कृति, स्थानीय खानपान र धार्मिक स्थललाई समेटेर पर्यटन गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए । साथै जनकपुरलाई ‘डेस्टिनेसन म्यारिज हब’ का रूपमा विकास गर्न सकिने उनको धारणा छ ।
मिथिला कलाकी निर्देशक सुनैना ठाकुरले पनि पर्यटकलाई स्थानीय कला, संस्कृति र जीवनशैलीसँग जोड्नुपर्ने बताइन् । मिथिला चित्रकला र हस्तकलालाई पर्यटनसँग जोड्न सके स्थानीय कलाकार तथा व्यवसायीले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ ।
पर्यटक स्वागत गर्न सहर तयार छ ?
रेलसेवाले पर्यटक आउने बाटो सहज बनाए पनि जनकपुरधामको पूर्वाधार र व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिएको छ ।
रेलवे स्टेसनदेखि जानकी मन्दिरसम्मको सडक, सरसफाइ, यातायात, पर्यटक सूचना प्रणाली र सुरक्षामा विशेष ध्यान दिनुपर्ने स्थानीय व्यवसायी चन्दनकुमार साहको सुझाव छ ।
विवाहपञ्चमीजस्ता ठूला उत्सवमा हजारौँ श्रद्धालु एकैपटक भेला हुँदा फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, खानेपानी, पार्किङ र ट्राफिक व्यवस्थापनमा समस्या देखिने गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले रेलसेवा सुरु भएपछि पर्यटकको बसाइ लम्ब्याउने विषयमा विभिन्न पक्षसँग छलफल अघि बढाइएको बताए । होटल व्यवसायीलाई होटलको क्षमता र मूल्यसहितको विवरण वेबसाइटमा राख्न आग्रह गरिएको र सरसफाइमा समेत विशेष निगरानी थालिएको उनको भनाइ छ ।
सात दिनको भीडलाई वर्षभरको पर्यटनमा बदल्ने चुनौती
होटल एसोसिएसन नेपाल मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानका अनुसार रेलसेवा सञ्चालन हुनु पर्यटन विकासका लागि महत्वपूर्ण अवसर हो । तर, पर्यटकको बसाइ लम्ब्याउन गुणस्तरीय होटल सेवा, व्यवस्थित यातायात, सरसफाइ, पर्यटन सूचना र स्थानीय उत्पादनको प्रवर्द्धन आवश्यक छ ।
उनका अनुसार मधेश प्रदेशभरका दर्ता भएका होटलमा दैनिक करिब २० हजार पर्यटकलाई आवास उपलब्ध गराउन सक्ने क्षमता छ ।
अयोध्या र जनकपुरबीच रेल सम्पर्क स्थापित भएपछि रामायण सर्किट, संयुक्त धार्मिक पर्यटन प्याकेज तथा स्थानीय सांस्कृतिक कार्यक्रम विस्तार गर्ने सम्भावना पनि बढेको छ ।
अब जनकपुरधामले पर्यटकलाई जानकी मन्दिर दर्शन गराएर फर्काउनेभन्दा पनि यहाँका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यसँग जोड्न सक्नुपर्छ । त्यसका लागि सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक छ ।
रेलसेवाले पर्यटक आउने ढोका खोलेको छ । तर, त्यसलाई स्थानीय अर्थतन्त्र र रोजगारीसँग जोड्दै वर्षभरको पर्यटनमा बदल्नु नै जनकपुरधामको मुख्य चुनौती बनेको छ ।
