विराटनगर । पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने तमोर नदीमाथि निर्माणाधीन हाक्पारा पुलको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।
१४६ मिटर लामो उक्त पुलको निरीक्षणमा मुख्यमन्त्री कार्कीसँगै कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए।
टोलीले निर्माणाधीन पुलको अवस्था र निर्माण कार्यको प्रगतिबारे स्थलगत जानकारी लिएको थियो।
तमोर नदीमाथि निर्माण भइरहेको यस पुलले पाँचथरको तुम्बेवा र तेह्रथुमको छथर गाउँपालिकाबीचको आवागमन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पुल निर्माण सम्पन्न भएपछि दुवै क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावत, व्यापार व्यवसाय तथा अन्य आर्थिक गतिविधिमा सहजता पुग्नेछ।

