विराटनगर । झापाको मेचीनगरस्थित जंगलमा लुकाएर राखिएको १९ हजार ४०० किलो फर्सीको बियाँ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
झापा र इलामको सीमा क्षेत्रमा पर्ने मेचीनगर नगरपालिका–१, भालुखोपको जंगलबाट शनिबार उक्त परिमाणको बियाँ बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको नेतृत्वमा खटिएको टोलीले बियाँ फेला पारेको हो ।
सशस्त्र प्रहरीका अनुसार ४८५ बोरामा प्याक गरेर जंगलमा बेवारिसे अवस्थामा लुकाइएको बियाँसँगै दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ ।
बरामद गरिएको १९.४ टन फर्सीको बियाँ आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
ठूलो परिमाणमा फर्सीको बियाँ जंगलमा लुकाएर राख्नुको कारण खुलेको छैन । यसको स्रोत, ओसारपसारको उद्देश्य र संलग्न व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
