विराटनगर। नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा देखिएको विवाद तत्कालका लागि समाधान भएपछि सत्ता साझेदार नेपाली कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
एमालेभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा विवाद रहेकाले कांग्रेसले केही समयसम्म आफ्नो निर्णय रोकेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीबीच भएका छुट्टाछुट्टै तथा संयुक्त छलफलपछि हिक्मत कार्कीलाई नै तत्कालका लागि मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति बनेको हो।
उक्त सहमतिपछि नेपाली कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको जनाएको छ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापाले सरकारमा रहेका कांग्रेसका सबै मन्त्रीले एक–दुई दिनभित्र राजीनामा दिने जानकारी दिए।
हाल कोशी प्रदेशमा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार रहेको छ। कांग्रेसको तर्फबाट एक जना राज्यमन्त्रीसहित पाँच जना मन्त्री सरकारमा सहभागी छन्। उनीहरूले छिट्टै पदबाट राजीनामा दिने थापाले बताए।
केन्द्रमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश सरकारहरूको सत्ता साझेदारी सम्बन्धी तीनबुँदे सहमति भएको छ। सोही सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने निर्णय भएको थियो।
यद्यपि, नेतृत्व एमालेले गर्ने सहमति भए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा एमालेभित्र विवाद चर्किएको थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा हिक्मत कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अघि बढेपछि कार्कीले पद नछाड्ने अडान लिएका थिए।
उक्त विवादका कारण केन्द्रमा तीनबुँदे सहमति भएको लामो समय बित्दासमेत कोशी प्रदेश सरकार पुनर्गठन हुन सकेको थिएन। अहिले भने विवाद तत्कालका लागि टुंगिएसँगै कांग्रेस सरकारबाट बाहिरिने प्रक्रिया अघि बढेको छ।
