काठमाडौँ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन् ।
लगातारको वर्षाले कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा आएका छन् । सडक अवरोध र मौसमको प्रतिकूलताका कारण गृह मन्त्रालय र प्रहरी प्रशासनले सर्वसाधारणलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन र आवश्यक परेमा मात्र लामो दूरीको यात्रा तय गर्न आग्रह गरेको छ ।
पछिल्लो विवरण अनुसार, वर्षा र पहिरोका कारण दाउन्ने सडकखण्ड, मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्र, मध्यपहाडी लोकमार्ग तथा बीपी राजमार्गका कतिपय खण्डहरूमा यातायात सेवा अवरुद्ध वा नियन्त्रित गरिएको छ ।
सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुरकोट-नेपालथोक सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक समेत लगाइएको छ ।
यसैगरी, गण्डकी प्रदेशको बेँसीसहर-चामे सडक र देशका विभिन्न पहाडी क्षेत्रका भित्री सडकहरू पनि पहिरोका कारण ठप्प छन् ।
सडक विभाग, स्थानीय प्रशासन र सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) अवरुद्ध सडकहरू खुलाउन र पहिरो पन्छाउन लगातार प्रयासरत रहेका छन् । तर, निरन्तरको वर्षा र लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ ।


