विराटनगर । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को वार्षिक अवार्ड समारोहमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उत्कृष्ट प्रदर्शन गर्दै ‘क्लिन स्वीप’ गरेको छ। क्लबले जिल्लाका सबैभन्दा प्रतिष्ठित तीन सम्मान—आउटस्ट्यान्डिङ क्लब, आउटस्ट्यान्डिङ प्रेसिडेन्ट र आउटस्ट्यान्डिङ सेक्रेटरी—एकै साथ जित्दै आफ्नो सेवा, नेतृत्व र व्यवस्थापन क्षमताको सशक्त छाप छोडेको हो।
क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडा ‘आउटस्ट्यान्डिङ प्रेसिडेन्ट’ तथा सचिव रोटेरियन पूनम राठी ‘आउटस्ट्यान्डिङ सेक्रेटरी’ घोषित भएका छन्। साथै रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ‘आउटस्ट्यान्डिङ क्लब’ को सर्वोच्च सम्मान प्राप्त गरेको छ।
यससँगै क्लबले वातावरण संरक्षण, स्थानीय अर्थतन्त्र प्रवर्द्धन, ह्याप्पी स्कूल तथा बाल विकास क्षेत्रमा उत्कृष्ट कार्यका लागि चार विधामा विजेता पुरस्कार प्राप्त गरेको छ।
क्लब प्रशासन, सेवा परियोजना तथा वार्षिक कोष योगदानतर्फ प्रथम रनरअप तथा द रोटरी फाउन्डेसन, पब्लिक इमेज र रोग रोकथाम तथा उपचारतर्फ द्वितीय रनरअप सम्मान प्राप्त गर्दै क्लबले कुल १५ वटा सम्मान आफ्नो नाममा दर्ज गराएको छ। क्लबलाई १०० प्रतिशत टीआरएफ गिभिङ क्लब को मान्यता समेत प्रदान गरिएको छ।
यसै अवसरमा क्लबकी सदस्य रोटेरियन सुनिता अग्रवाल लाई डिस्ट्रिक्ट मूल्याङ्कन टोलीमा पुर्याएको योगदानको कदरस्वरूप विशेष प्रशंसा सम्मान प्रदान गरिएको थियो।
उक्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले यो सफलता कुनै एक व्यक्ति वा पदाधिकारीको नभई सम्पूर्ण क्लब परिवारको सामूहिक प्रयास, समर्पण र सेवाभावको प्रतिफल भएको बताइन्। उनले सदस्यहरूको सक्रिय सहभागिता, बोर्डको नेतृत्व तथा समुदायको विश्वासले क्लबलाई यो उचाइमा पुर्याएको उल्लेख गरिन्।
रोटरी वर्ष २०२५–२६ मा शिक्षा, स्वास्थ्य, वातावरण, बाल विकास, आर्थिक सशक्तीकरण तथा सामुदायिक सेवाका क्षेत्रमा सञ्चालन गरिएका प्रभावकारी कार्यक्रमहरूको मूल्याङ्कनका आधारमा क्लबलाई यी सम्मान प्रदान गरिएको हो।
डिस्ट्रिक्ट ३२९२ अन्तर्गत नेपाल र भुटानका सयौं रोटेरियनहरू सहभागी समारोहमा विराटनगर डाउनटाउनको यो उपलब्धिलाई जिल्लाकै उल्लेखनीय सफलतामध्ये एकका रूपमा हेरिएको छ।


