काठमाडौं । तीन सातादेखि अवरुद्ध बनेको नेपालबाट भारततर्फ हुने चिया निर्यात पुनः सहज भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले नेपाली चियामा लागू गरेको अनिवार्य नमुना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) व्यवस्था फिर्ता लिएपछि निर्यातको बाटो खुलेको हो ।
टी बोर्डले मंगलबार राति संशोधित सूचना (कोरिजेन्डम–२) जारी गर्दै यसअघिको कडा व्यवस्था हटाएको जनाएको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई), भन्सार विभाग र टी बोर्डका अधिकारीबीच भएको संयुक्त बैठकपछि यस्तो निर्णय गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार भारतको आन्तरिक बजारमा खपत हुने चियामा अब टी बोर्डले अनिवार्य परीक्षण गर्ने छैन । एफएसएसएआई वा भन्सार विभागले भने आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार आवश्यक परेमा छड्के रूपमा नमुना परीक्षण गर्न सक्नेछन् ।
यससँगै नेपालबाट भारत जाने चिया बोकेका ट्रकहरूलाई नाकामै रोकेर प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ । बुधबारदेखि निर्यात प्रक्रिया पूर्ववत् रूपमा सञ्चालन हुन थालेको व्यवसायीहरूले बताएका छन् ।
यद्यपि, भारतमा आयात गरी पुनः प्याकेजिङ तथा ब्रान्डिङ गरेर तेस्रो मुलुकमा निर्यात गरिने चियामा भने कडा मापदण्ड कायम रहनेछ । टी बोर्डले १० फेब्रुअरी २०२६ मा जारी गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) अनुसार त्यस्ता चियाको गुणस्तर परीक्षण अनिवार्य गरिनेछ ।
व्यापार सहजीकरणका लागि टी बोर्डले परीक्षण प्रतिवेदन आउने समयसीमासमेत घटाएको छ । यसअघि परीक्षण रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने गरेकामा अब प्रयोगशालाले नमुना प्राप्त गरेको पाँच दिनभित्रै अनलाइनमार्फत प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
भारतको पछिल्लो निर्णयले नेपाली चिया उद्योगमा उत्साह थपिएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताए । उनका अनुसार भारतले लागू गरेको अनिवार्य नमुना परीक्षणको नियम पूर्ण रूपमा फिर्ता लिएपछि हालका लागि चिया निर्यात सहज बनेको छ ।
तर, यो व्यवस्था स्थायी रूपमा हटाइएको हो वा अस्थायी रूपमा मात्रै खुकुलो बनाइएको हो भन्नेबारे अझै स्पष्ट नभएको उनले बताए । भविष्यमा भारतले नयाँ कार्यविधि वा प्रणाली लागू गर्न सक्ने सम्भावना भने कायमै रहेको उनको भनाइ छ ।
