विराटनगर । गत वैशाख १८ गतेदेखि नेपाली चिया निर्यातमा भारतले लगाउँदै आएको नीतिगत अवरोध अन्ततः हटेको छ। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले नेपाली चिया आयातमा नयाँ खुकुलो व्यवस्था लागू गरेसँगै रोकिएको चिया निर्यात सहज हुने बाटो खुलेको हो।
नयाँ नियमअनुसार अब नेपालबाट भारत निर्यात हुने चियामध्ये २० प्रतिशत नमुना मात्रै परीक्षण गरिनेछ। यसअघि वैशाख १८ देखि हरेक ट्रकको चिया अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था थियो, जसको रिपोर्ट कोलकाताबाट आउन कम्तीमा १५ दिन लाग्थ्यो। रिपोर्ट आउन ढिलाइ हुने र प्रतिकूल आए चिया नै नष्ट गरिने डरका कारण भारतीय व्यवसायीहरूले नेपाली चिया किन्न छाडेका थिए।
व्यवसायी उत्साहित, अर्डर आउन सुरु
नयाँ नीति लागू भएसँगै भारतीय आयातकर्ताहरूले फेरि नेपाली चिया खरिदका लागि सम्झौता र अर्डर गर्न थालेका छन्। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतबाट चियाको माग (अर्डर) आउन सुरु भइसकेको छ।
शनिबार र आइतबार भन्सार बन्द हुने भएकाले यो नयाँ व्यवस्था व्यवहारमा कत्तिको झन्झटरहित ढंगले लागू हुन्छ भन्ने कुरा सोमबारदेखि मात्रै स्पष्ट हुने उनी बताउँछन्। “अब एउटा ट्रकको नमुना स्वीकृत भयो भने त्यही आधारमा अरू ५ ट्रक चिया बिना अवरोध निर्यात हुन सक्नेछ,” गुप्ताले थपे। यसअघि वैशाख १८ भन्दा अगाडि ५ प्रतिशत मात्रै नमुना परीक्षण गर्ने खुकुलो व्यवस्था थियो।
के छ एफएसएसएआईको नयाँ व्यवस्थामा?
भारतको वाणिज्य सचिवको अध्यक्षतामा गत १६ जुन २०२६ मा बसेको बैठकले यो निर्णय गरेको हो। एफएसएसएआईको सूचनाअनुसार:
भारतको घरेलु उपभोगका लागि आयात गरिने चियाको हकमा संशोधित २० प्रतिशत नमुना छनोट दर तत्कालै लागू हुनेछ।
यो नियमले हार्मोनाइज्ड कोड ०९०२ अन्तर्गतका अर्थोडक्स र सीटीसी दुवै प्रकारका नेपाली चियालाई समेट्नेछ।
यो व्यवस्था भारतका सबै सीमा नाकाहरूमा समान रूपमा लागू हुनेछ र यसअघिका चियासम्बन्धी सबै पुराना परिपत्रहरू खारेज भएका छन्।
तर, नेपालबाट खुला चिया आयात गरेर त्यसलाई पुनः रिप्याकिङ र ब्रान्डिङ गरी तेस्रो मुलुक निर्यात गर्ने भारतीय व्यवसायीहरूको हकमा भने हरेक ट्रकको नमुना परीक्षण गर्नुपर्ने पुरानै नियम यथावत् रहनेछ। भारतकै बजारमा खपत हुने चियाका लागि भने २० प्रतिशत नमुना परीक्षण गरे पुग्ने भएकाले यसले झापा र इलामका चिया उत्पादक तथा किसानलाई ठूलो राहत मिल्ने देखिएको छ।


