Premier Cables
Premier Steel

अर्थ

भारतीय नयाँ नियमपछि नेपाली चिया निर्यात पूर्ण ठप्प, उद्योग संकटमा

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ ०६, २०८३  | बिहान ९:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । भारत सरकारले नेपाली चिया आयातमा कडाइ गर्दै प्रत्येक ट्रकमा अनिवार्य प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) लागू गरेपछि विगत दुई सातादेखि नेपालको चिया निर्यात पूर्ण रूपमा बन्द भएको छ ।

भारतीय चिया विकास निगमले गत वैशाख १८ गतेदेखि नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ लागू गरेसँगै नेपाली चिया व्यवसाय गम्भीर संकटमा परेको व्यवसायीहरूले बताएका छन् । नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतको यो निर्णयले वार्षिक पाँचदेखि छ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गर्ने नेपाली चिया उद्योग प्रत्यक्ष प्रभावित भएको हो ।

बिज्ञापन

सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार नयाँ नियमले निर्यातकर्तामाथि थप आर्थिक र प्रशासनिक बोझ सिर्जना गरेको छ । “अहिले चिया निर्यातको मुख्य सिजन चलिरहेको छ । करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा भए पनि भारतीय पक्षको कडा प्रावधानका कारण व्यवसायीहरूले चिया पठाउन सकेका छैनन्,” उनले बताए । उनका अनुसार दुई सातायता एक पोका चिया पनि भारत निर्यात हुन सकेको छैन ।

यसअघि एक उद्योगले एकपटक ल्याब परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया भारत पठाउन सकिने व्यवस्था थियो । तर नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारत प्रवेश गर्ने प्रत्येक ट्रकको नमुना भारतीय सरकारले मान्यता दिएको प्रयोगशालामा परीक्षण गर्नुपर्नेछ ।

प्रत्येक ट्रकको परीक्षणका लागि १८ हजार रुपैयाँ शुल्क लाग्नेछ भने रिपोर्ट आउन कम्तीमा १४ दिन लाग्ने व्यवसायीहरूको भनाइ छ । यदि परीक्षण प्रतिवेदन प्रतिकूल आएमा उक्त चिया भारतीय बजारमा बिक्री गर्न वा अन्यत्र निर्यात गर्न नपाइने मात्र होइन, जफतसमेत गरिने प्रावधान राखिएको छ ।

व्यवसायीहरूले यो व्यवस्था गैरभन्सार अवरोध भएको आरोप लगाएका छन् । “महँगो शुल्क, लामो प्रतीक्षा र चिया जफत गर्ने प्रावधानले निर्यात नै रोक्ने नियत देखिन्छ,” अध्यक्ष पराजुलीले भने, “यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यात स्थायी रूपमा प्रभावित हुन सक्छ ।”

भारतीय बजार नेपाली चियाको प्रमुख गन्तव्य मानिन्छ । तर पानीट्याङ्की भन्सार क्षेत्रमा ट्रक पार्किङ तथा भण्डारणको पर्याप्त पूर्वाधारसमेत नरहेको व्यवसायीहरूको गुनासो छ । परीक्षण प्रतिवेदन आउन १०–१४ दिन लाग्ने हुँदा चिया बोकेका ट्रक व्यवस्थापन गर्न समस्या भएको उनीहरू बताउँछन् ।

नेपाल चिया उत्पादक सङ्घले समस्या समाधानका लागि नेपाल सरकारले तत्काल भारतसँग ‘जिटुजी’ संवाद सुरु गर्नुपर्ने माग गरेको छ ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया विश्व बजारमा गुणस्तरका लागि परिचित छन् । तर प्रमुख बजार भारतमै नीतिगत अवरोध सिर्जना हुँदा किसान, उद्योगी र श्रमिक सबै प्रभावित भएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २० हजार ६०२ हेक्टर क्षेत्रफलमा फैलिएको चिया बगानबाट दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो । सोही अवधिमा नेपालले चार अर्ब ५९ करोड आठ लाख ५६ हजार रुपैयाँ बराबरको चिया निर्यात गरेको तथ्याङ्क छ ।

हाल देशभर १७० ठूला तथा १२० साना–मझौला चिया बगान सञ्चालनमा छन् । चिया खेतीमा १५ हजारभन्दा बढी किसान प्रत्यक्ष संलग्न छन् भने करिब एक लाख श्रमिकले यस क्षेत्रबाट रोजगारी पाउँदै आएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa