काठमाडौं । प्रतिनिधिसभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । बिहीबार विपक्षी दलहरूको बहिष्कार र प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच नीति तथा कार्यक्रम अनुमोदन गरिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेपछि विपक्षी चार दलले बैठक बहिष्कार गरेका थिए । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू सदन छाडेर बाहिरिएका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध जारी राखेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित रहेपछि अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए । विपक्षी दलहरूले भने प्रधानमन्त्री शाह स्वयंले जवाफ दिनुपर्ने माग गरेका थिए ।
यसअघि बिहीबार नै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए ।
