इटहरी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्राममा आइतबार बिहानै भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारीसहित दुई युवा रहेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल बिहान करिब २:५० बजे अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मी रहेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार दुर्घटना लगत्तै गम्भीर घाइते अवस्थामा दुवै जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकहरूले रेग्मीलाई बिहान ४:५२ बजे र थापालाई बिहान ५:११ बजे मृत घोषणा गरेका थिए।
मृतक सागर रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीका (प्रजिअ) स्वकीय सचिवका रूपमा करार सेवामा कार्यरत थिए। अर्का मृतक पारस थापा पनि केही समयअघिसम्म सोही कार्यालयमा करारमा कार्यरत थिए।
उनले हालै मात्र पदबाट राजीनामा दिएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
