२०८२ बैशाख १९, शुक्रबार
Hamro Biratnagar Calendar आइतबार, बैशाख १४, २०८२

विराटनगर । नयाँ वर्ष सुरु भएसँगै कोशी प्रदेशमा पर्यटक आगमनको चहल पहल यतिबेला निकै बढेको छ । कोशी प्रदेशको तिनजुरेबाट कोशी प्रदेश पर्यटन वर्ष २०८२ को भव्य सुभारम्भ भएसँगै छिमेकी भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकहरुको चहल पहल ह्वात्तै बढेको छ । कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ व्यापक प्रचार प्रसार गरिएको छ । पर्यटनका हिसावले कोशी प्रदेश निकै धनी छ । कोशी प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखी मकालु, कञ्चनजंघा हिम श्रृङ्खला, गुराँसको राजधानी (तिनजुरे–मिल्के जलजाले), सवैभन्दा ठुलो नदी कोशीसमेत यसै प्रदेशममा पर्दछ । धार्मीक पर्यटनका हिसाबले पनि कोशी प्रदेश सवैभन्दा अगाडी छ । आस्थाकि देखी पाथिभरा मन्दीर, पिण्डेश्वरी, बुढासुब्बालगायतका चर्चित शक्तिपिठहरु यसै प्रदेशमा पर्दछन् । विभिन्न सिमसार क्षेत्र, कोशि टप्पु बन्यजन्तु आरक्षक्षेत्र पनि यसै प्रदेशमा छ । हिमाल, पहाड तथा तराईको सँगम प्रदेश कोशीमा इलामको चियाबारी, श्री अन्तुलगात पर्यटकीय स्थलहरुका कारण सवै प्रदेश भन्दा धनी मानिन्छ ।

बिज्ञापन

 

बिज्ञापन

कोशी प्रदेश पर्यटकीय गन्तव्य

कोशी प्रदेशमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा ताप्लेजुङमा पाथीभरा मन्दिर, फुडफुडे झारना, ईलामको सन्दकपुर–माईपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको भेडेटार, नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुुखुम्बुको स्याङ्बोचे र सगरमाथा रहेका छन् । यस्तै ओखलढुङ्गाको पोकली झरना, झापाको बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र र तालतलैया उत्कृष्ट हुन् ।  त्यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा ताप्लेजुङको तिङ्बुङ पोखरी, पाँचथरको फाल्गुनन्द सर्किट, ईलामको फिकल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीनजुरे मिल्के जलजले रहेका छन् । संखुवासभाको बालेश्वर ऐतिहाँसिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटन ट्रेल, भोजपुरको ट्याम्के डाँडा (मुन्धुम ट्रेयल), खोटाङको बराह पोखरी पनि पर्यटकीय गन्तव्यमा परेका छन् । ताप्लेजुङमा पाथीभरा, फुडफुडे झारना, ईलामको सन्दकपुर–माईपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको भेडेटार, नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुुखुम्बुको स्याङ्बोचे र सगरमाथा रहेका छन् ।

त्यस्तै सोलुखुम्बुको पाँचपोखरी, ओखलढुङ्गाको थोलेदम्बा डाँडा, उदयपुरको उदयपुर गढी, झापाको शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र छन् । मोरङको धनपालगढी, सुनसरीको पिण्डेश्वर, दन्तकाली मन्दिर पनि ऐतिहाँसिक धार्मिक तथा पर्यटकीय क्षेत्रका हिसावले महत्वपूर्ण छ ।

घुम्नै पर्ने पर्यटकीय गन्तब्य

तिङ्बुङ पोखरी

तिम्बुङ्पोखरी ताप्लेजुङ्ग जिल्लाको पूर्वी भागमा पाँचथरको सिमानामा नै पर्दछ । कञ्चन्जङ्घा आरक्षण क्षेत्रदेखि दक्षिणतिर रहेको यो पोखरी सिन्दिंग्वा गापा वडा नं. १ मा अवस्थित छ । लिम्बू भाषामा तिम्बुङ्को अर्थ टिलपिल हुनेहुँदा टिलपिल पानी भएको पोखरीका रूपमा यसलाई तिम्बुङ्पोखरी भनिएको हो । समुद्र सतहदेखि करिव ४२०० मिटरको उचाईमा रहेको यो पोखरी छेउछाउमा अन्य थुप्रै पोखरीहरू पनि छन् । सरस्वती, हनुमान, सूर्य, दूध, गणेश र हाँडीपोखरी यस वरपरका अन्य पोखरीहरू हुन् । यस पोखरीलाई देवीका रूपमा लिने गरिन्छ र यस स्थानमा नागपन्चमीका अवसरमा मेला लाग्ने गरेको छ । मेलाका अवसरमा यहाँ नेपाल र भारततिरका तीर्थयात्रीहरू पुग्ने गरेका छन् ।

श्रीअन्तु

यो स्थान समुद्र सतहदेखि करिव २३२८ मिटरको उचाईमा छ । श्रीअन्तुसम्म ईलामको फिक्कलबाट छिपिटार र सिद्धिखोला हुँदै मोटरबाटो गएको छ । यस स्थानसम्म सडकमार्गको सुविधा रहेको हुनाले श्रीअन्तुसम्म पुग्न सरल भएको छ । श्रीअन्तुको मुख्य आकर्षण त्यहाँबाट देखिने सूर्योदयको दृश्यावलोकन हो । पूर्वी नेपालका विभिन्न स्थानका साथमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल, भारतका सिलिगुढी, खार्सांग र मिरिकका साथमा तराईको फाँट पनि यस स्थानबाट सहज रूपमा देख्न सकिन्छ । श्रीअन्तु भेग निकै सुन्दर छ । त्यहाँको चिया बगानको सुन्दरता, पोखरीमा गरिने नौकाशयर र घोडचढी यात्रा लगायतका गतिविधि पर्यटकका लागि आनन्द दिने विषयवस्तु हुन् ।

अर्जुनधारा

झापाको अर्जुनधारा नगरपालिकामा पर्ने अर्जुनधारा क्षेत्र महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल हो । पूर्वको पशुपतिका नामले चिनिने यो स्थानमा काठमाडौंको पशुपतिको सरहनै मन्दिर निर्माण गरिएको छ । दुई तहको छानायुक्त तले शैलीको यो मन्दिरका टुँडाल, तोरण र अन्य सामग्रीहरू काठमाडौंबाट ल्याएर प्रयोग गरिएका हुन् । पशुतिको स्वरूपमा मन्दिर निर्माणका लागि त्यसमा प्रयोग गरिएका तेली ईंटा पनि काठमाडौंबाट नै ल्याइएको बताइन्छ । पूर्वपश्चिम लोकमार्गमा पर्ने विर्तामोडबाट करिव ५ किमि उत्तरमा रहेको अर्जुनधारा पुग्न पक्की सडक र यातायातको राम्रो सुविधा छ । प्राप्त एक किंवदन्तिअनुसार अघि पाण्डवहरू यसै भेगमा गुप्तवास बसेका रहेछन् । पछि कौरवहरूले यो कुरा थाहा पाएकाले पाण्डवलाई लुकाउने राजा विराटका गाईहरू लुटेर लगेछन् । तिनीहरूलाई पाण्डवहरूले फिर्ता ल्याउँदा ज्यादै तिर्खाएकाले तिनीहरूलाई पानी खुवाउन अर्जुनले त्यस स्थानमा पानी निकालेका थिए भन्ने जनविश्वास छ । उनले त्यस स्थानमा वाण हानेर जमिनबाट पानी निकालेको तथा तिर्खाएका गाईलाई पानी खुवाएको धार्मिक विश्वास पाइन्छ । यही विश्वासमा यस स्थानलाई अर्जुनधाराका भनिएको हो ।

धनपालगढी

मोरङको बेलबारी नगरपालिका स्थित कसेनीमा प्रसिद्ध धनपालगढी रहेको छ । पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण यस धनपालगढी करिब ३५ बिगाहा जमिनमा फैलिएको छ । त्यहाँका मुख्य आकर्षण गढीको अवशेष, पुराना पोखरी, पुरातात्विक भग्नावशेषहरू र हरियो जंगल नै हुन् । पार्कका रुपमा रहेको यस स्थानमा पुराना इँटा, ९ वटा पोखरी, धनपालको मन्दिर र अन्य प्रकारका पुरातात्विक अवशेषहरू पाइएका छन् । स्थानीय मानिसहरूको भनाईमा प्रारम्भमा यस स्थानलाई फुलबारीको महिषपाल गढ भनिने भए पनि पछि धनपालगढ भन्न लागिएको हो । आजभन्दा करिब पाँचछ सय वर्षअगाडि तिर धनपालनामक स्थानीय शासकले यहाँ एउटा गढीको स्थापना गरेकाले यसलाई धनपालगढी भनिएको हो । हाल भने धनपाललाई देवताका रूपमा पूजाआजा गर्ने चलन छ ।

पिण्डेश्वर

धरानको विजयपुरमा पिण्डेश्वर महादेवको मन्दिर छ । यसको स्थापना मध्यकालतिर भएको मानिएको छ । पिण्डेश्वरमा ईसाको चौधांै शताब्दीदेखिका कलावस्तु, मूर्ति र मन्दिरहरू रहेका छन् । मध्यकालतिर सेनहरूका पालमा यी मठमन्दिरहरू स्थापना गरिएको मानिन्छ । पिण्डेश्वरको उत्पत्तिका बारेमा किम्वदन्ती अनुुसार देवताहरूले समुद्र मन्थन गरी निकालेको अमृत भाँडोमा राख्ता तर (छाली) लागेछ, जसलाई बटारेर पिण्डजस्तै बनाई यस स्थानमा राखिएको हुनाले त्यही पिण्ड या गोलो बस्तु पिण्डेश्वर महादेवका रूपमा परिणत भएछन् । तसर्थ पिण्डेश्वरलाई अमृतको तरबाट बनेको शिवजी मान्ने गरिन्छ ।

दन्तकाली

दन्तकाली मन्दिर सुनसरी स्थित धरान विजयपुरको एउटा महत्वपूर्ण धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थल हो । दन्तकालीको मन्दिर भव्य तले शैलीमा निर्मित छ । यो मन्दिर पिण्डेश्वरदेखि करिव ५०० मिटर उत्तरतिर विजयपुर डाँडामाथि पर्दछ । यसको स्थापना अघि मध्यकालतिर गरिएको हो । तर तत्काल यो मन्दिर सामान्य थियो भन्ने देखिन्छ । रूद्राक्षारण्य महात्म्यमा पनि यसलाई पिण्डेश्वरको बायव्य दिशामा रहेकी देवी भनिएको छ । स्वस्थानी व्रतकथामा पाइने सतीदेवीका दाँत पतन भएको स्थान यही दन्तकाली थियो भन्ने जनविश्वास पाइन्छ । तसर्थ यसलाई दन्तकाली भनिएको हो ।

तीनजुरे–मिल्के–जलजले

तिनजुरे, मिल्के र जलजलेलाई छोटकरीमा टिएम्जे भनिन्छ । टिएम्जे तेह«थुम र संखुवासभाको सिमानामा पर्दछ । यस पहाडमा जैविक विविधता भरपूर छ । यसमा पनि २८ जातका गुराँसका लागि टिएम्जे विश्वप्रख्यात छ । यसलाई लालिगुराँसको राजधानी पनि भनिन्छ । यहाँ अन्य प्रकारका वनस्पति, जीवजन्तु र जडिबूटी पनि पाइन्छन् । टिएम्जे २१०० देखि ५००० मिटरसम्म को उचाईमा छ । लुम्बासुम्बा हिमाल पनि यही श्रेणिमा पर्दछ । प्राकृतिक रूपमा अति सुन्दर स्थानमा रहेको टिएम्जे पर्यटन विकासको अत्यधिक सम्भावना बोकेको स्थान हो । जलजले हिमाल यसै भेगमा पर्दछ ।

बराहपोखरी

यो पोखरी उदयपुर जिल्लाको वराहपोखरी गाउँमा पर्दछ । समुद्र सतहदेखि १००० मिटर उचाईमा रहेको यो पोखरी ८०० मिटर लामो र ५०० मिटर चौडा छ । यस पोखरीको पानीको रंग विभिन्न सिजनमा परिवर्तन हुन्छ भन्ने मान्यता छ । यो पोखरीमा वराहविष्णुले स्नान गरेको पौराणिक मान्यता राखिन्छ । यहाँ विभिन्न प्रजातिका माछाहरू पाइन्छन् । यिनलाई उदयपुरकी रौताकी दिदी पनि भनिन्छ । एउटा किंवदन्तीमा के भनिएको पाइन्छ भने रौता र वराहपोखरी दिदीबहिनी एक पटक झगडा गरेछन् । झगडामा रौताले माछाले वराहपोखरीलाई हान्ने र वराहपोखरीले भ्यागुताले रौतालाई हान्ने गरेछन् । यसैको परिणामस्वरूप रौतामा भ्यागुतामात्र र वराहपोखरीमा माछामात्र छन् भनिन्छ । अघि यस स्थानमा १२ घर राईहरूको बस्ती रहेको तथा ती घरहरू पानीमा डुबेर पोखरी बनेको हुनाले यसलाई बराह पोखरी भनिएको पनि बताइन्छ ।

उदयपुरगढी

उदयपुरको कटारी बजारदेखि २४ कि.मी. पूर्वतर्फ एउटा पहाडको टाकुरामा उदयपुरगढी गापा वडा नं. ५ मा नयाँ र पुरानो दुईवटा गढीहरू छन् । यहाँको पुरानो गढी उदयपुरका स्थानीय सामन्त उदयचन्द्रले निर्माण गरेको तथा नयाँ गढी भने वि.सं. १८७२ सालमा चौदण्डीगढीबाट उदयपुरको सदरमुकाम सार्दा स्थापना भएको मानिन्छ । यस गढी क्षेत्रमा पञ्चावतीमाई, गणेश र भैरवका मूर्तिहरू छन् । भने वि.सं. १८७२ पछिका केही अभिलेखहरू पनि पाइएका छन् । स्थानीय किंवदन्तीमा उदयपुरगढीको स्थापना राजा उदयचन्द्रले गराएको उल्लेख पाइने भए पनि वंशावलीहरूमा यिनको नाम कतै पनि नपाइने हुनाले यिनलाई यहाँका स्थानीय सामन्त मान्न सकिन्छ । स्थानीय किंवदन्तीहरुमा उदयचन्द्रका सात भाई दाजुभाईले यस क्षेत्रमा स्थानीय शासन गरेको विवरण पाइन्छ ।

ट्याम्के

ट्याप्के भोजपुर जिल्लाको टेम्के मैयुम गाउँपालिका वडा नं. ४ मा पर्दछ । भोजपुर र खोटांगको सिमानामा रहेको यो पहाड भोजपुरको तेस्रो अग्लो मानिन्छ । ट्याम्के समुद्र सतहदेखि करिव ३१०० मिटर उचाईमा छ । ट्याम्के डाँडाको टुप्पासम्म नै गाडिबाटो लगिएको छ । डाँडामाथि जाने बाटो वन्द हुँदा पनि फेदीदेखि करिव एक घन्टाको पैदलबाटो बाट डाँडाको टुप्पामा पुग्न सकिन्छ । डाँडाको टुप्पामा देवीको मन्दिर छ । त्यहाँको मन्दिर ढुंगाले बनेको तथा काठको छाना लगाइएको छ । यस मन्दिर भेगमा मानिसहरुले देवीका नाममा परेवा उडाउने गर्दछन् ।

मैयुम डाँडा

मैयुमडाँडा भोजपुर जिल्लाको टेम्के मैयुम गाउँपालिका वडा नं. १ मा पर्दछ । यो डाँडा पनि टेम्केडाँडाको एउटा भाग हो । भोजपुर र खोटांगको सिमानामा पर्ने मैयुमडाँडा समुद्र सतहदेखि ३३२० मिटरको उचाईमा छ । यस डाँडाबाट सगरमाथा, कुम्भकर्ण र मकालु लगायतका हिमालहरुका साथमा हरिया जंगल र अन्य सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पूर्वमा अरुण नदी उपत्यका र पिखुवाखोला पनि यस भेगबाट देख्न सकिन्छ । यस डाँडामा नै हाँसपोखरी पनि छ । हाँसपोखरी भेगमा नयाँवर्षको उपलक्षमा मेला लाग्ने गर्दछ । यस मेलामा टाढाटाढाका मानिसहरु पुग्ने गरेका छन् । मैयुमको यात्रा गर्ने क्रममा हाँसपोखरी, टेम्के र अन्य विभिन्न स्थानको भ्रमण गर्न सकिन्छ ।

पाथिभरा

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले पाथीभरा देवी भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।

त्यसैगरी कोशी प्रदेशमा वेतना, जमुनखाडी, ताल तलैया, बेतनी, हसिनालगायतका सिमसार क्षेत्रहरुसमेत रहेका छन् । जहाँ नैकाविहार गर्नुका साथै संरक्षीत बन्यजन्तुहरुको अवलोकन पनि गर्न पाईन्छ । प्रदेश नं. १ मा झरनाहरुसमेत प्रसस्त गरेका छन् । जहाँ झरनासँग रमाउन सकिन्छ । ह्यात्रुङ, नमेस्ते, नागवेली झरना प्रमुख हुन् ।

DPS
Vianet
Web Surfer
Aarya Hospital
स्टोरिजमा समाचार
Pigeon Advertising

विराटनगर

Ban Karyalaya