Premier Cables
Premier Steel

अपराध समाचार

लेटाङमा १३ वर्षीया अंशु गौतम हत्या घटना : अनुसन्धानमा प्रहरीलाई चुनौती

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | बिहान १०:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव बेलबारी-चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा फेला परेपछि घटनाले गाउँभर त्रास र आक्रोश फैलिएको छ। तर, घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले कठिनाइ भोगिरहेको जनाएको छ।

अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। दुई सातासम्म खोजी गर्दा पनि अत्तोपत्तो नलागेपछि शुक्रबार दिउँसो घाँस काट्न गएका स्थानीयले जंगलभित्र दुर्गन्ध आएपछि खोज्दै जाँदा उनको शव फेला पारेका थिए।

बिज्ञापन

प्रहरीका अनुसार शव अत्यन्त क्षतविक्षत अवस्थामा भेटिएको थियो-टाउको र शरीर छुट्टिएको थियो। मोरङका एसपी कटवालले भने, “प्रारम्भिक रूपमा धारिलो हतियार प्रयोग भएको देखिन्छ। तर, शव बिग्रिएको हुँदा जंगली जनावरको आक्रमणको सम्भावना पनि नकार्न सकिँदैन। वास्तविकता अनुसन्धानपछि मात्रै प्रष्ट हुन्छ।”

शवको शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ। डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको प्रहरी स्रोतले जनाएको छ। परिवारले शव अंशुकै भएको दाबी गरे पनि रिपोर्ट नआएसम्म औपचारिक पुष्टि गर्न सकिने छैन।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिइन्। वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले भनिन्, “सामान्य र विपन्न परिवारकी बालिकाको यस्तो निर्मम हत्या हाम्रो समाजका लागि कलंक हो। यो घटना योजनाबद्ध रूपमा गरिएको जस्तो देखिन्छ।”

घटनापछि गाउँमा शोक र आक्रोश दुवै व्याप्त छ। स्थानीयले यो योजनाबद्ध हत्या भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

घटनाको गम्भीरता बुझ्दै जिल्ला प्रहरी कार्यालय मोरङले इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ। टोलीले घटनास्थल र वरपरका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन र शकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गरिरहेको छ। तर, शव कुहिएको र प्रमाणहरू नष्ट हुन थालेका कारण अनुसन्धान चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ।

प्रहरीले अंशुको घर, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीहरूसँग बयान लिँदै अनुसन्धानलाई तीव्र पारेको छ। तर, हालसम्म घटनामा संलग्न कसैको पहिचान हुन सकेको छैन।

अंशुकी आमा बिनाले भावुक हुँदै भनिन्, “हामीले हरेक दिन छोरी फर्केर आउँछे भनेर पर्ख्यौं। यस्तो अवस्थामा भेटिन्छे भन्ने सोच्न पनि सकिनँ। जसले यो गरेको छ, उसलाई कडा सजाय होस्।”

एसपी कटवालका अनुसार घटनालाई अत्यन्त संवेदनशील मानेर अनुसन्धान अघि बढाइएको छ। “पोस्टमार्टम, डीएनए परीक्षण र फरेन्सिक रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता खुल्नेछ। तर, घटनाको स्वरूप हेर्दा गम्भीर आपराधिक गतिविधिको संकेत देखिन्छ,” उनले भने।

हालसम्म ठोस सुराक नपाए पनि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। गाउँ, विद्यालय र स्थानीय समुदाय सबै अंशुको न्यायको माग गर्दै सडकमा आवाज उठाइरहेका छन्।

प्रहरीको भनाइमा, “अपराधीलाई छिटो पहिचान गरी कानुनी कारबाहीमा ल्याउनु नै हाम्रो पहिलो प्राथमिकता हो।” अंशुको परिवार र आफन्त अहिले पनि न्यायको प्रतीक्षामा छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka