विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले “EcoStride – Empower Her, Empower Earth” नामक परियोजना अन्तर्गत मोरङ जिल्लाका महिला विद्यार्थी तथा परिवारको आर्थिक जिम्मेवारी सम्हालिरहेका महिलाहरूलाई ५६ वटा साइकल वितरण गरेको छ। परियोजनालाई मेट लाइफ इन्स्योरेन्सले आर्थिक सहयोग प्रदान गरेको हो।
यस परियोजनाको उद्देश्य महिलाहरूको शिक्षा, रोजगारी तथा दैनिक आवतजावतलाई सहज बनाउनुका साथै वातावरण संरक्षणमा योगदान पुर्याउनु हो। सवारी साधनको सट्टा साइकिल प्रयोगले वातावरणमैत्री जीवनशैलीलाई प्रवर्द्धन गर्ने र प्रदूषण घटाउने लक्ष्य राखिएको छ।
परियोजनाबाट विराटनगर तथा आसपासका मोरङ क्षेत्रका झहदा, बरजु, धुनी, बाख्री र खार्जी क्षेत्रका महिला तथा छात्राहरू लाभान्वित भएका छन्। यी क्षेत्रका धेरै महिला र छात्राहरूले दैनिक ३ देखि ५ किलोमिटर वा सोभन्दा बढी दूरी पैदल हिँडेर विद्यालय वा काममा जानुपर्ने समस्या भोगिरहेका छन्।
लाभग्राही छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन RCC, महिला समूह, स्थानीय अगुवा, विद्यालय तथा नगरपालिका सँग समन्वय गरिएको थियो।
महिला लाभग्राही: परिवारको मुख्य कमाउने सदस्य वा एकल महिला, कम आय भएका परिवार, दैनिक ३–५ किलोमिटरभन्दा बढी यात्रा गर्ने।
विद्यार्थी लाभग्राही: सरकारी विद्यालय वा कलेजमा अध्ययनरत, दैनिक ३-५ किलोमिटर पैदल हिँडेर विद्यालय जाने छात्राहरू।
यस परियोजनाले महिलाहरूको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। साइकिल प्रयोगले शारीरिक गतिविधि बढाउनुका साथै वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्नेछ, जसले दीर्घकालीन रूपमा स्वास्थ्य तथा वातावरण दुबैमा सकारात्मक असर पार्ने विश्वास गरिएको छ।
कार्यक्रममा MetLife Insurance का माइक्रो फाइनान्स डिपार्टमेन्टको हेड श्रीमान नवीन मानन्धर , बिष्णु काफले, निरन्जन बुढाठोकी समेत उपस्थिति रहेको थियो।
क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सरडा यस परियोजनाकी फोकल पर्सन रहनु भएको थियो। उहाँले परियोजनाको सम्पूर्ण विवरण प्रस्तुत गर्दै MetLife Insurance का श्री अन्कीत राजभण्डारी र श्री ऋतेन्द्र कार्की लाई परियोजना सफल बनाउन निरन्तर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।


