बिराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले विद्यालयमा खेल–शिक्षा र शारीरिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आज थप दुई सामुदायिक विद्यालयमा खेलकुद सामग्री वितरण गरेको छ।
नगरपालिकासँगको समन्वयमा सम्पन्न गरेको कार्यक्रममा श्री मदन्नगर आधारभूत विद्यालय (बिराटनगर–३) र बाख्री आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण गरिएको हो।
विद्यालयहरूलाई प्रदान गरिएको सामग्रीमा १४ थान ब्याडमिन्टन र्याकेट, २ भलिबल, १ भलिबल नेट, २ फुटबल, १ ब्याडमिन्टन नेट, १० सेट स्किपिङ रोप, २ सेट लुडो, १ क्यारम बोर्ड, क्यारम गोटी तथा स्ट्राइकर सेट, क्रिकेट ब्याट, स्टम्प र २ क्रिकेट बल समावेश थिए।
रोटरी क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले यस अभियानबारे समग्र जानकारी दिँदै “विद्यार्थीहरूको शारीरिक सक्रियता, खेलप्रतिको रुचि र आत्मविश्वास अभिवृद्धिमा यस सहयोगले महत्वपूर्ण प्रभाव पार्ने विश्वास रहेको” बताइन्।
वितरण कार्यक्रममा रोटेरियन सपना सिंघल, नीरू नेवटिया, सरिता गोल्छा र स्नेहा अटल उपस्थित थिए। खेल सामग्री पाउँदा दुवै विद्यालयका विद्यार्थीहरू अत्यन्तै खुसी र उत्साहित देखिन्थे।
रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले समुदाय–केन्द्रित सामाजिक परियोजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

