काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए । भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको आरोप उनीमाथि लागेको छ ।
तत्कालीन गृहमन्त्री रमेश लेखकसँग निकट मानिएका रिजाल आन्दोलनपछिको विवादका कारण एक महिना नपुग्दै सीडीओ पदबाट हटेका थिए ।
गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले रिजालसहित अन्य व्यक्तिमाथि पनि कारबाही सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन् ।
आयोगसमक्ष दिएको बयानमा रिजालले आन्दोलनका क्रममा घुँडाभन्दा तल लक्षित गरी रबरका गोली चलाउन मौखिक निर्देशन दिएको स्वीकार गरेका छन् । तर, सिधै गोली चलाउने आदेश भने आफूले नदिएको उनको दाबी छ ।
रिजाल यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । सो अवधिमा कर्मचारी सरुवा–पोस्टिङमा अनियमितता गरेको आरोप उनीमाथि लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि रिजालविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ । साथै, तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईसँग सम्बन्धित गतिविधिबारे समेत छानबिन जारी रहेको बताइएको छ ।
