






आगजनीबाट बचेका समान निकाल्दै पत्रकार धिरज दाहाल र युवा ।
विराटनगर । देशको लोकतान्त्रिक आन्दोलनको साक्षी बनेको कोइराला निवासमा एकाएक भीड प्रवेश गरी आगजनी गर्यो।
आन्दोलनको नाममा इतिहास मेटाउने यस घटनापछि, कोइराला निवास पूर्ण रूपमा जलेर नष्ट भएको छ। १०२ वर्ष पुरानो यो ऐतिहासिक घरमा अब बीपी कोइरालाले निर्वासनबाट पठाएको चिठी र केही तस्बिरबाहेक केही बाँकी छैन।
प्रत्यक्षदर्शी मोहनध्वज कार्कीले भीड लाठी बोकेर आएर तोडफोड गर्दै घरमा पसेको र सामान निकालेर आगो लगाएको बताए। निवासको सुरक्षा जिम्मेवारीमा रहेका उनी त्यस दिन भाग्यवश ड्युटीमा थिएं, नभागेको भए आफू पनि बाँच्ने रहेछु भन्छन् । उनी विराटनगर महानगरपालिका प्रहरी युनिटबाबाट खटिएका थिए ।
कोइराला निवास नेपालको लोकतान्त्रिक इतिहासको एउटा गहिरो अध्याय हो। यसै स्थानबाट कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्धको विद्रोह थालेका थिए। यही घरमा तीन जना प्रधानमन्त्री (बीपी, मातृका, गिरिजाप्रसाद) जन्मिएका थिए। र, यही घरमा लोकतन्त्रको बीउ रोपिएको थियो।
भदौ २४ बिहानै विराटनगरको पुष्पलाल चौकमा नाराबाजी गर्दै सडकमा टायर बालिएको थियो। केही युवाले पुष्पलालको सालिक ढालेर त्यस ठाउँलाई ‘युवा चोक’ नामकरण गर्ने प्रयास गरे। चौकभरि धुवाँ मात्र बाँकी रह्यो।
आगो निभेपछि केही कांग्रेस समर्थक युवाले निवासबाट बचेका केही सामग्री निकाल्न सके। तीमध्ये बीपी कोइरालाले केशव कोइरालालाई पठाएको ऐतिहासिक चिठी, केही तस्वीरहरू र केही स्मृति चिन्ह जोगिएका छन्। तर गिरिजाप्रसाद कोइरालाको गाडी, स्मृति चिह्नलगायत अधिकांश वस्तु जलेर नष्ट भए।
विराटनगर–८ निवासी पत्रकार धिरज दाहालले बीपीको चिठी र अन्य सामग्री जोगाउँदा आफू पनि घाइते भएको बताए। ‘‘कोइरालाजस्तो परिवार, जसले जनताको अधिकारका लागि जीवनभर संघर्ष गर्यो, त्यसकै निवासमाथि यस्तो आक्रमण किन ?’’ उनी प्रश्न गर्छन्।
कांग्रेस नेतृ विजयेता अधिकारी निवास डढेको थाहा पाएपछि घटनास्थल पुगिन्। आँखा रसाउँदै भनिन्, “कोइरालाहरूले सधैं जनताको पक्षमा लडे। यो आक्रमणको अर्थ के हो?”
जेनजी आन्दोलनका नाममा भड्किएका हिंसात्मक घटनाहरूले केवल कोइराला निवास होइन, लोकतन्त्रका प्रतीक बनेका अरू ऐतिहासिक स्थानहरूलाई पनि निशाना बनाएको छ।
सन्तनेता कृष्णप्रसाद भट्टराईको बोडेगाउँस्थित आश्रम जलाइयो, जहाँ उनी साधा जीवन बिताउँथे। गणेशमान सिंहको चाक्सीबारीस्थित घर पनि आगजनीको शिकार भयो।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लेख्छन्- “देशभरिका लोकतान्त्रिक स्मारकहरू खरानी बनाउनु कसको सेवा हो? लखन थापा, पृथ्वीनारायण शाह, बीपी, गणेशमान, कृष्णप्रसाद… सबैको इतिहास मेटेर के स्थापित गर्न खोजिएको हो?”
“इतिहासको खरानीमा उभिएर प्रधानमन्त्री बन्नेहरूले यो सत्यलाई कसरी बुझ्ने हुन्, समयले देखाउनेछ”, उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।
यो घटनाले केवल एक घर जलाएको छैन, एक इतिहास, एक आन्दोलन, र एक विश्वासलाई खरानी बनाएको छ। लोकतन्त्रका नायकहरूको योगदानमाथि यस्तो हमला केवल राजनीतिक असहमति होइन – इतिहासमाथि आक्रमण हो।