फायल फोटो
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको छ।
सरकारले वार्षिक बजेट प्रस्तुत गर्नुअघि सांसदहरूबाट सुझाव संकलन गर्ने उद्देश्यले बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल अघि बढाउन लागेको हो।
संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्। उक्त प्रस्तावपछि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको औपचारिक छलफल सुरु हुनेछ।
यस्तै, दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ।
यसैबीच, बजेट निर्माणको तयारीस्वरूप सङ्घीय संसद्अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आजै बस्दैछ। सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान १० बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमासम्बन्धी विषयमा विभिन्न मन्त्रालयसँग छलफल गरिनेछ।
बैठकमा बजेटका प्राथमिकता, योजना तथा मन्त्रालयगत आवश्यकताका विषयमा सम्बन्धित निकायका प्रतिनिधिसँग विस्तृत परामर्श गर्ने कार्यतालिका रहेको जनाइएको छ।
