Premier Cables
Premier Steel

कोशी प्रदेश

राजनीतिक व्यक्तित्वको नाममा मिटरब्याजको फन्दा ? कामतमाथि लगातार उजुरी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १७, २०८२  | अपराह्न १:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामकुमार कामत मिटरब्याज (सूदखोरी) मार्फत ठगी गरेको आरोपमा विवादमा तानिएका छन् । उनीविरुद्ध हालसम्म जिल्ला प्रशासन कार्यालय मोरङमा थुप्रै उजुरी दर्ता भइसकेका छन्।

पछिल्लो उजुरी कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले दिएका हुन्। उनले पूर्व अध्यक्ष रामकुमार कामतले मिटरब्याजको नाममा आफूलाई ठगी गरेको दाबी गरेका छन्। वडाध्यक्ष जदुलालका अनुसार २०७४ सालमा साढे ६ कठ्ठा जग्गा खरिद गर्दा २१ लाख रुपैयाँ ऋण लिएको तर त्यसबापत कामतले जग्गा आफ्नी श्रीमती रुणादेवी कामतको नाममा पास गराएका थिए।

बिज्ञापन

“ऋण तिर्दै ३५ लाख ५० हजार रुपैयाँ बुझाए पनि अझै २३ लाख मागिरहेको अवस्था छ,” जदुलालले बताए। उनले आफ्नो आर्थिक अवस्था डावाडोल भइसकेको बताउँदै न्यायका लागि जिल्ला प्रशासन कार्यालयको ढोका ढकढक्याएको बताए।

कामत परिवारले अहिले पनि जग्गा फिर्ता गर्न अस्वीकार गर्दै २३ लाख रुपैयाँ मागिरहेका छन्। सो विषयमा कांग्रेसका स्थानीय तथा जिल्लास्तरीय नेताहरूसँग समेत सम्पर्क गरिए पनि पार्टी तहबाट कुनै पहल नदेखिएको जदुलालको गुनासो छ।

यसैबीच, रामकुमार कामतमाथि अन्य पीडितहरूले पनि उजुरी दिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार पहिले दर्ता भएका दुई उजुरीमाथि अझै कारबाही प्रक्रिया अघि बढेको छैन। कटहरी गाउँपालिकाको न्यायिक समितिमा समेत उनका विरुद्ध दुई उजुरी दर्ता छन्। साथै, उच्च अदालत विराटनगरमा लिखत बदरसम्बन्धी मुद्दा विचाराधीन छ।

कामतकी श्रीमती रुणादेवी कामतले समेत कटहरी–३ मा रहेको घर खाली गराइदिन निवेदन दिएकी छन्। उक्त घर वडाध्यक्ष जदुलालसँग जग्गा खरिद गरी बसेका दुई परिवारले बनाएका थिए, जसले अहिले बसोबास गुम्ने डर व्यक्त गरेका छन्।

यस्तै, अर्की पीडित रामवती राजवंशीले पनि कामतमाथि मिटरब्याजमार्फत ठगी गरेको आरोप लगाएकी छन्। उनले ८ लाख रुपैयाँ ऋण लिएपछि ५ कठ्ठा र ३ कठ्ठा गरी दुई स्थानका जग्गा अन्य व्यक्तिको नाममा पास गराएकी थिइन्। ऋण र ब्याज तिरेपनि जग्गा फिर्ता नभएको उनले बताइन्। “अन्याय भएपछि प्रशासनमा उजुरी दिएकी हुँ, तर कहिले समाधान हुने हो ठेगान छैन,” उनले भनिन्।

तर, रामकुमार कामतले भने आफूमाथि राजनीतिक प्रतिशोध स्वरूप षड्यन्त्र गरिएको दाबी गरेका छन्। “वडाध्यक्ष जदुलालले बदनाम गर्न खोजिरहेका छन्। ऋणसम्बन्धी कुनै प्रमाण छैन,” उनले भने, “उहाँले नै मेरी श्रीमतीको नाममा जग्गा पास गराएका हुन्। प्रमाण भए देखाउनुपर्छ, यसरी कसैको मानमर्दन गर्न मिल्दैन।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka