Premier Cables
Premier Steel

अपराध विराटनगर

मिटरब्याजीको आतंक : ‘मन्टु’लाई झिकाउन आदेश, कटहरीका पूर्वअध्यक्षले जग्गा फिर्ता गर्ने

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शुक्रबार, असार २०, २०८२  | बिहान ८:१२ बजे

विराटनगर । विराटनगरका कुख्यात मिटरब्याजी सञ्जय प्रसाद रौनियार ‘मन्टु’लाई जिल्ला प्रशासन कार्यालय, मोरङले तत्काल उपस्थित गराउन आदेश दिएको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गर्दै उनलाई कार्यालयमा झिकाउन निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता विनोद कुमार पोखरेलले छलफलका लागि पटक–पटक बोलाउँदा समेत मन्टुले मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएपछि प्रहरीमार्फत कार्यालयमा झिकाउन निर्देशन दिनुपरेको बताए । रौनियारविरुद्ध २० जना पीडितले मिटरब्याज तथा ठगीसम्बन्धी उजुरी दर्ता गराएका छन्।

बिज्ञापन

प्रशासनले एक साता अघिसमेत छलफलका लागि बोलाएको थियो तर उनी “स्वास्थ्य समस्या” को बहानामा अनुपस्थित भएका थिए। त्यसपछि उनी सम्पर्कमा नरहेको प्रशासनले जनाएको छ।

प्रशासनको आधिकारिक पत्रमा भनिएको छ‌,

“अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी उजुरीको छलफलका लागि पटक–पटक बोलाउँदा पनि इन्कार गरी मोबाइल अफ गरेर बसेका सञ्जय प्रसाद रौनियार (मन्टु) ले प्रक्रिया अवरुद्ध पारेका छन्। त्यसैले निजलाई अविलम्ब कार्यालयमा उपस्थित गराइदिन आदेश गरिन्छ।”

मन्टु १६ महिनाको जेल सजाय भोगेपछि रिहा भएका थिए। तर जेलबाट निस्किएपछि पनि झूटो तमसुक देखाएर अदालतमा मुद्दा हाल्ने, हुलाकमार्फत पैसा मागेर सर्वसाधारणलाई आतंकित पार्ने जस्ता गतिविधि जारी राखेपछि स्थानीय पीडितहरूले सामूहिक रूपमा जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएका हुन्।

पीडितहरु दिलीप कुमार मण्डल, संगीता कामत, सावित्रा प्रसाई, गुल्जार मियाँ, बेबी खातुन, रोसनी खातुन, मिना शाक्या, मञ्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्र कुमार केवरत, साजिद मियाँ, परमेश्वर कामत, दिपक कुमार रायलगायतले प्रशासन गुहारेका छन् ।

प्रशासनले अब मन्टुलाई उपस्थित गराएर कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।

यता, मोरङको कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतले भने वडाध्यक्षलाई जग्गा फिर्ता दिने भएका छन् ।

राजनीतिक संरक्षणमा मिटरब्याज सञ्चालन गर्ने गरेको आरोपमा उनीविरुद्ध पनि प्रशासनमा उजुरी दर्ता भएको थियो ।‌ कारवाही नगर्न कांग्रेस स्थानीय नेताहरुले दबाब दिंदै आएका थिए ।

कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले रामकुमारले जबर्जस्ती आफ्नो जग्गा नफर्काइ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए ।

जदुलालले २०७४ सालमा जग्गा किन्न २१ लाख रुपैयाँ ऋण लिएका थिए। तर, ऋणको नाममा रामकुमारकी पत्नी रुणादेवी कामतको नाममा जग्गा पास गरिएको थियो। समयमै ब्याज र साँवा बुझाइसकेका जदुलालले कुल साढे ३५ लाख रुपैयाँ तिर्दा पनि धरौटीबापत राखिएको जग्गा फिर्ता नपाएको भन्दै उजुरी दर्ता गराएका थिए ।

वडाकार्यालयमा भएको लिखित सहमतिअनुसार, रामकुमारले कित्ता नम्बर ८९० को १६९.३० वर्गमिटर जग्गा फिर्ता दिने सहमति गरेका छन्। सो जग्गा हाल हरि कामतको नाममा पुगेको छ, जसले उक्त जग्गा जदुलालबाट खरिद गरेका थिए।

साथै, रामकुमारले ब्याजबापत लिएको चार लाख रुपैयाँ पनि फिर्ता गर्ने सहमति गरेका छन्। वडाकार्यालयले उक्त सहमति कागज प्रमाणित गरिसकेको छ ।

सहमतिको कागज अनुसार, बाँकी रहेको केही जग्गा रामकुमारकै नाममा भोगचलन गर्न दिने सहमति पनि गरिएको छ। रामकुमारले स्वयं जग्गा फिर्ता गर्ने विषयमा कागजी सहमति भएको स्वीकार गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दुई पक्षबीचको सहमतिबारे जानकारी प्राप्त भएको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka