Premier Cables

समाचार

कटहरीका पूर्वअध्यक्ष माथि मिटरब्याजी आरोप, अनुसन्धान नगर्न कांग्रेस नेताको दबाब

Calendar शुक्रबार, असार १३, २०८२  | बिहान ९:३९ बजे

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस नेता रामकुमार कामतमाथि मिटरब्याजको गम्भीर आरोप लाग्दै आएको छ। पीडितले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएपनि कांग्रेस नेताहरूको दबाबमा सो मुद्दा अघि नबढेको आरोप लागेको छ।

कामत कांग्रेस कटहरी गाउँपालिका समितिका सभापति र २०७४ सालमा निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

बिज्ञापन

जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पीडित र कामत पक्षबीच जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल भएको छ, तर कुनै सहमति जुट्न सकेको छैन।

के छ आरोप?
कटहरी–२ की ५५ वर्षीया रामवती राजवंशीले २०७१ सालमा ८ लाख रुपैयाँ ऋण लिन ८ कठ्ठा जग्गा दुई व्यक्तिका नाममा रजिष्ट्रेसन गरेर पैसा लिएकी थिइन्। ५ कठ्ठा डम्बरकुमारी दाहालको नाममा र ३ कठ्ठा लिलावती यादवको नाममा पास गरिएको जग्गावापत ऋण लिएकी उनले सावाँ र ब्याजसमेत तिरेकी थिइन्। तर, उक्त जग्गा फिर्ता नपाउँदै ती जग्गा अन्ततः रामकुमार कामतको नाममा पुगे।

कामतले भने आफूले रामवतीसँग नभई डम्बरकुमारी दाहाल र सन्तोष मण्डलबाटै कानुनी रूपमा जग्गा किनेको दाबी गर्दै आएका छन्।

रामवतीका अनुसार जग्गा फिर्ता माग्दा कामतले नदिने अडान राख्दै धम्कीसमेत दिएका थिए। अहिले करिब २ करोड मूल्य पर्ने ती जग्गा गुमेपछि पीडित परिवार अर्काको जग्गामा बस्न बाध्य भएको छ।

अनुसन्धानमा राजनीतिक दबाब
२०७४ को स्थानीय चुनावअघि कामतले जग्गा फिर्ता दिने आश्वासन दिएको रामवतीले बताइन्। तर चुनाव जितेपछि उनले न त जग्गा फिर्ता गरे न त उजुरी दर्ता गर्न दिए।

२०८१ जेठमा रामवती र उनका परिवारले प्रहरी हुँदै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि कारबाही प्रक्रिया कांग्रेस नेताको दबाबमा अघि नबढेको स्रोतले जनाएको छ। प्रशासनले बैशाखमा छलफल गरे पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन।

पीडितका छोरा इन्द्रकुमार राजवंशीले जिल्ला अदालतमा लिखत बदरको मुद्दा दायर गरे पनि सो मुद्दा जिल्ला अदालतमा हारिएको छ। हाल सो मुद्दा उच्च अदालतमा विचाराधीन छ।

कामतले भने आफूविरुद्ध मिटरब्याजको झुठा आरोप लगाएर बदनाम गर्न खोजिएको दाबी गर्दै आएका छन्। उनले केही व्यक्तिहरूलाई “विचौलिया” को संज्ञा दिँदै कानुनी प्रक्रिया पालना गरेको बताउँदै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो