विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन पुनः दबाब बढाएको चर्चा सुरु भएको छ। ओलीले राजीनामा दिन आग्रह गरेको खबर सार्वजनिक भएपछि मुख्यमन्त्री कार्कीले सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूसँग परामर्श गरेका छन्।
मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा कार्कीले सम्भावित राजीनामाको विषयमा नेकपाका नेताहरूसँग सुझाव मागेका थिए। छलफलमा नेकपाका नेताहरूले तत्काल राजीनामा नदिन र सरकारलाई निरन्तरता दिन सुझाव दिएका छन्।
छलफलमा मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप, एमाले सांसद रेवतीरमण भण्डारी तथा नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्कबहादुर नेम्वाङ सहभागी थिए।
नेकपा संसदीय दलका नेता आङ्बोका अनुसार मुख्यमन्त्रीले राजीनामा दिन दबाब आए के गर्ने भन्ने विषयमा सुझाव मागेका थिए। जवाफमा नेकपाका नेताहरूले सरकारको निरन्तरताका पक्षमा आफूहरू रहेको बताएका थिए।
‘हामी राजीनामाका पक्षमा छैनौँ। प्रदेशलाई अस्थिर पार्ने र बदनामी कमाउने पक्षमा छैनौँ। तपाईंकै निरन्तरताको पक्षमा छौँ भनेर भनियो,’ आङ्बोले भने।
नेकपाको समर्थन पाएपछि मुख्यमन्त्री कार्की अध्यक्ष ओलीको मौखिक आग्रहकै आधारमा राजीनामा नदिने मनस्थितिमा पुगेको उनीनिकट स्रोतको दाबी छ।
यद्यपि, एमालेका केही नेताले राजीनामाको दबाबबारे सार्वजनिक भएका समाचार अस्वीकार गरेका छन्। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले ओलीले मुख्यमन्त्रीलाई काठमाडौं बोलाएको सुने पनि राजीनामा दिन दबाब दिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले पनि ओलीबाट राजीनामाका लागि कुनै दबाब नआएको दाबी गरेका छन्।
एमाले अध्यक्ष ओलीले कार्कीको विकल्पमा प्रदेशसभा सदस्य तथा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अघि सारेको चर्चा छ। मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने विषय एमालेभित्र केही समयदेखि उठ्दै आएको छ।
एमालेका प्रदेश इन्चार्ज तथा सचिव शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरू कार्कीलाई राजीनामा गराउन सक्रिय रहेको बताइएको छ। उनीहरूले ओलीसँग पटक–पटक भेटेर नेतृत्व परिवर्तनका लागि दबाब दिँदै आएका छन्।
यसअघि गत साउन २० गते ओली, मुख्यमन्त्री कार्की, प्रदेश अध्यक्ष खतिवडा र पार्टी सचिव राजकुमार भण्डारीसहितका नेताहरूबीच भएको छलफलमा दसैँ–तिहारपछि कार्कीले राजीनामा दिने सहमति भएको एमाले नेताहरूको दाबी छ।
एमाले प्रदेश इन्चार्ज राईले पनि कार्कीले यसअघि ओलीसमक्ष राजीनामा दिने प्रतिबद्धता जनाएको आफूले सुनेको र त्यसको कार्यान्वयन हुने अपेक्षा गरेको बताएका छन्।
तर मुख्यमन्त्री कार्कीले भने आफूलाई यस विषयमा कुनै स्पष्ट जानकारी नभएको बताउँदै आएका छन्।
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनको मुखमा प्रदेश सरकार परिवर्तन गर्दा राजनीतिक अस्थिरता बढ्ने भन्दै वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने धारणा राखेको छ।
नेकपाका प्रदेश संयोजक हर्कबहादुर नेम्वाङले अहिले सरकार परिवर्तन गर्नु उचित नहुने बताएका छन्। उनका अनुसार विगतको राजनीतिक अस्थिरताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता छ।
तर नेकपाले एमालेभित्रको विवादका कारण सरकार परिवर्तन गर्न खोजिए त्यसको समर्थन नगर्ने संकेत पनि दिएको छ। यस्तो अवस्था आए आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्न सकिने नेकपाका संसदीय दलका नेता आङ्बोले बताएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त भएका हुन्। त्यसैले उनलाई एमाले संसदीय दलको निर्णय वा पार्टी अध्यक्षको निर्देशनकै आधारमा हटाउन सहज छैन।
कार्कीले आफू कुनै एउटा दलको समर्थनमा मात्रै नभई प्रदेशसभाका स्वतन्त्र सांसदहरूको समर्थनसमेत जुटाएर मुख्यमन्त्री बनेको बताउँदै आएका छन्।
यसअघि पनि उनलाई दलको नेताबाट हटाउने प्रयास भएको थियो। तर आवश्यक बहुमत नपुग्ने देखिएपछि उक्त प्रयास रोकिएको थियो।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित गर्ने क्रममा समेत सरकार परिवर्तनको प्रयास भएको थियो। बजेट संशोधन गर्ने सहमतिपछि उक्त प्रयास असफल भएको थियो।
यसरी सरकार गठनदेखि बजेट पारित र पछिल्लो राजीनामा विवादसम्म आइपुग्दा मुख्यमन्त्री कार्कीको नेतृत्वमाथि पटक–पटक प्रश्न उठ्दै आएको छ।
एमालेभित्र कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउन चाहने समूह र उनलाई निरन्तरता दिनुपर्ने पक्षबीचको शक्ति संघर्षले कोशी प्रदेशको राजनीति थप पेचिलो बनेको छ। अब ओलीको दबाब, कार्कीको अडान र सत्ता साझेदार नेकपाको समर्थनले प्रदेश सरकारको भविष्य कता मोडिन्छ भन्ने चासो बढेको छ।
