विराटनगर । विराटनगर महानगरपालिकाभित्र खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँ कायम गरिएको छ । निर्धारित मूल्य कार्यान्वयन भए–नभएको अनुगमनका क्रममा अधिकांश पसलमा सोही मूल्यमा मासु बिक्री भइरहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा महानगरपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, मासु व्यवसायी तथा उपभोक्ता मञ्चका प्रतिनिधिबीच भएको छलफलपछि खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँ कायम गरिएको हो ।
निर्णय कार्यान्वयनको अवस्था बुझ्न महानगरपालिकाको पशुपन्छी शाखा र नगर प्रहरीको संयुक्त टोलीले आज बिहान विभिन्न मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही पसलमा बाहेक अधिकांश स्थानमा प्रतिकिलो १ हजार २०० रुपैयाँमै खसीको मासु बिक्री भइरहेको पाइएको महानगरपालिकाले जनाएको छ ।
निर्धारित मूल्य उल्लेख नगरेका पसललाई समेत प्रतिकिलो १ हजार २०० रुपैयाँ मूल्यसूची राख्न लगाइएको थियो ।
मासु किन्न आएका उपभोक्ताले निर्धारित मूल्यमा मासु पाउँदा खुसी व्यक्त गर्दै नियमित रूपमा बजार अनुगमन गर्न आग्रह गरेका थिए ।
महानगरपालिकाले सबै खसीको मासु व्यवसायीलाई तोकिएको मूल्यअनुसार बिक्री गर्न अनुरोध गरेको छ । कसैले आफूखुसी बढी मूल्य लिएको पाइएमा जिल्ला प्रशासन कार्यालय वा महानगरपालिकामा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
उजुरीकर्ताको पहिचान गोप्य राखिने जनाउँदै महानगरपालिकाले उपभोक्तालाई मूल्यमा अनियमितता भए जानकारी गराउन आग्रह गरेको छ ।

