विराटनगर । निर्माण सामग्रीको मूल्यवृद्धिले विराटनगर महानगरपालिकाको विकास निर्माण कार्य प्रभावित बनेको छ । महानगरले सडक तथा पूर्वाधार निर्माणका लागि पटक–पटक ठेक्का आह्वान गरे पनि निर्माण कम्पनीबाट निवेदन नपर्ने समस्या देखिएको हो ।
विशेषगरी सडक कालोपत्रे र पक्की नाला निर्माणसम्बन्धी योजनामा ठेकेदार कम्पनीको चासो घटेपछि महानगरका विकास आयोजना नै प्रभावित हुने अवस्था सिर्जना भएको छ ।
विराटनगर महानगरपालिकाको योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठ का अनुसार इन्धनसहित निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले निर्माण कम्पनीले ठेक्का प्रक्रियामा सहभागी हुन छाडेका छन् ।
“कालोपत्रे सडकका लागि बारम्बार सूचना आह्वान गर्दा पनि निवेदन परिरहेको छैन,” उनले भने, “आर्थिक वर्ष सकिन लाग्दासमेत धेरै योजना ठेक्का प्रक्रियामा जान नसक्दा विकास निर्माण प्रभावित बनेको छ ।”
महानगरले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो पटक आह्वान गरिएका ४६ वटा ठेक्कामध्ये १४ वटामा कुनै पनि निवेदन परेन । पुनः सूचना जारी गर्दा पनि अवस्था उस्तै रहेको महानगरले जनाएको छ ।
<iframe title=”विराटनगर महानगरमा ठेक्का निवेदन नपरेका सडक” aria-label=”Table” id=”datawrapper-chart-Q10m7″ src=”https://datawrapper.dwcdn.net/Q10m7/3/” scrolling=”no” frameborder=”0″ style=”border: none;” width=”674″ height=”567″ data-external=”1″></iframe>
इन्जिनियर श्रेष्ठका अनुसार इन्धन, सिमेन्ट, रड, गिटी, इँटा, बालुवा तथा अलकत्रालगायत निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।
“विशेषगरी इन्धन र अलकत्राको मूल्य बढेपछि लागत धान्नै नसकिने अवस्था आएको भन्दै निर्माण व्यवसायीले अनौपचारिक रूपमा काम गर्न कठिन भएको बताएका छन्,” उनले भने ।
महानगरका अनुसार पछिल्लो चरणमा करोडौँ रुपैयाँ बजेटका सडक तथा नाला निर्माण योजनाका लागि सूचना आह्वान गरिएको थियो । तर, ७९ लाख ६ हजार ७२५ रुपैयाँ बजेटका सडक कालोपत्रे तथा मर्मत योजनामा समेत कुनै निवेदन परेन ।
महानगरले वडा नम्बर १२ को छिमेकी मार्ग, वडा नम्बर ६ को पियुष मार्ग र जुनेली मार्ग, वडा नम्बर २ को सम मार्ग तथा सरस्वती मार्ग, वडा नम्बर ११ को बिकेभिएमदेखि सीमा रोडसम्मको सडक मर्मत, वडा नम्बर ४ को गोग्राहा मार्ग र सखुवारे टोल रिटेनिङ वाल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो ।
तर, पहिलो सूचनामा आवेदन नपरेपछि ती योजनाका लागि दोस्रोपटक पुनः सूचना प्रकाशित गर्नुपरेको महानगरले जनाएको छ । वडा नं ६ का वडाध्यक्ष अक्षय सहनी ले सडक मर्मत तथा निर्माणका लागि स्थानीयवासीबाट दैनिक दबाब आउने गरेको बताए ।
“हामीले काम हुन्छ भनेर आश्वासन दिनुपरेको छ,” उनले भने, “तर ठेक्का नै नलागेपछि काम कसरी अघि बढाउने ?” उनका अनुसार स्थानीयवासीलाई ठेक्का प्रक्रिया अघि बढ्न नसकेको वास्तविकता बुझाउँदा पनि काम नगरेको भन्दै जनप्रतिनिधिले आलोचना खेप्नुपरेको छ ।
महानगरका अनुसार वडा नम्बर ६ को एकता मार्ग, वडा नम्बर ८ मा गणेश मन्दिरदेखि अशोक चोकसम्मको सडक, वडा नम्बर १९ को वडा कार्यालय पर्खाल निर्माण, वडा नम्बर १ को ड्रेन निर्माण, वडा नम्बर ३ को शीतल मार्ग मर्मत तथा वडा नम्बर १५ को माखिम मन्दिर सडक र पारिजात रोड निर्माणका योजना समेत ठेक्का प्रक्रियामा अघि बढ्न सकेका छैनन् ।
