विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर १ बाट ३५ वर्षमुनिका युवा कोटातर्फ एकै घरका दुई दाजुभाइ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।
२९ वर्षीय अभिषेक भट्टराई र उनका भाइ २६ वर्षीय गौरव भट्टराई युवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन् । दुवै दाजुभाइ सानैदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा चासो राख्दै आएका थिए ।
अभिषेक भट्टराई यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचनमार्फत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए । उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत भइसकेका छन् ।
यसपटक भने अभिषेकसँगै उनका भाइ गौरव पनि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । एउटै परिवारका दुई युवा दाजुभाइ एकैपटक युवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएपछि वडा नम्बर १ को कांग्रेस राजनीतिमा उनीहरूको चर्चा भएको छ ।
पछिल्लो पुस्ताको राजनीतिक सहभागितालाई प्रतिनिधित्व गर्ने यी दाजुभाइलाई कांग्रेसभित्र ‘जेनजी पुस्ताका युवा प्रतिनिधि’ का रूपमा समेत हेरिएको छ । राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका उनीहरूको सर्वसम्मत चयनले युवाको पार्टी संगठनमा बढ्दो सहभागितालाई समेत संकेत गरेको छ।
